विद्यार्थीलाई चिट चोर्न सघाउने दुई परीक्षा निरीक्षक निष्कासित


सेतोखरी सेतोखरी   सोमबार, चैत १९, २०८०
विद्यार्थीलाई चिट चोर्न सघाउने दुई परीक्षा निरीक्षक निष्कासित

नेपालगन्ज १९ चैत्र : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीलाई चिट चोर्न सघाउने दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सिद्देश्वर माध्यमिक विद्यालय सिधनवा परीक्षा केन्द्रमा खटिएका परीक्षा निरीक्षक निष्कासित भएका हुन् । 

आईतबार गणित विषयको परीक्षा सञ्चालनका क्रममा विद्यार्थीहरूले गाइड राखेर चिट चोरी रहेको अवस्थामा सोही कक्षाकोठामा डिउटी गरिरहेका परीक्षा निरीक्षकद्वय दीर्घराज बजगाईँ र सविता कसेरालाई निष्कासित गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयको निरीक्षण टोली अनुगमनका क्रममा विद्यार्थीहरूलाई चिट चोर्न मद्दत गर्दै गरेको अवस्थामा फेला पारी निष्कासन गरिएको समन्वय इकाई बाँकेका प्रमुख यादवले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको नेतृत्वको टोलीले आकस्मिक निरीक्षण गर्दा आईतबार अनिवार्य गणित विषयको परीक्षा सञ्चालनका क्रममा परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउनु पर्ने जिम्मेवारी र दायित्वमा रहेका परीक्षा निरीक्षकद्वय बजगाईँ र कसेराले आफ्नो पदीय कर्तव्य पूरा गर्न नसकेको पाइएकाले दुवै जनालाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुलाई प्रचलित कानून बमोजिम कारबाही अगाडी बढाइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउन तथा आगामी दिनमा यस्ता गतिविधि गर्न, नर्गन सचेत, जिम्मेवार र जबाफदेही रहन सबै केन्द्राध्यक्ष तथा निरीक्षकहरूलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकोछ । 

यो वर्ष बाँके जिल्लाबाट नौ हजार २९३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदैछन् । एसईईमा चार हजार ७६३ छात्र र चार हजार ५३० छात्रा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेको कार्यालयले जनाएको छ । 

परीक्षाका लागि बाँकेमा ३४ परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा ९, कोहलपुर नगरपालिकामा १०, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा चार÷चार, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा एक÷एक वटा परीक्षा केन्द्र राखिएका छन् । 

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

एसईई परीक्षा शुरु, बाँकेका नौ हजार २९३ परीक्षार्थी सहभागि