उडान भर्न तयार श्री एयरको पंखामा बाँधियो डोरी !


सेतोखरी सेतोखरी   बुधबार, चैत २१, २०८०
उडान भर्न तयार श्री एयरको पंखामा बाँधियो डोरी !

नेपालगन्ज २१ चैत्र : धावन मार्गमा उडान भर्न तयार रहेको श्री एयरको पंखामा डोरी बाँधिएको पाइएकोछ । यो घटना नेपालगन्ज विमानस्थलको हो ।

ब्यवसायिक कामको शिलशिलामा गत साता नेपालगन्जदेखि काठमाडौं पुगेकी नेपालगन्जकी ‘सुशिला श्री’ ले श्री एयरको पंखामा डोरी बाँधिएको तस्विर सामाजिक सञ्जालमा पोष्ट्याएपछि उक्त घटना चर्चामा आएको हो । उनले पोष्ट्याएको फोटोमा डोरीको एउटा टुप्पो जहाजको पंखा र अर्को टुप्पो यात्रु चढ्ने सिढीको डन्डीमा बाँधिएको थियो ।

काठमाडौं जादाँ र नेपालगन्ज फर्किदाँ उनले ‘श्री एयर’ जहाजको टिकट काटेकी थिइन् । गत शुक्रबार काठमाडौंबाट फर्किदाँ उनी ५ः३५ बजेको जहाज चढ्दै थिइन् । बोर्डिङ पास भएर जहाज चढ्नै लाग्दा उनको ध्यान सोही जहाजको पंखामा बाँधिएको डोरीतिर गयो । 

एकछिन भने उनलाई जहाज चढौं कि नचढौं जस्तै भयो । सँगै यात्रा गरेका एक जना पुरुषलाई सुशिलाले डोरी बाँधेको देखाइन् । तर, ति पुरुषले पनि सामान्य रुपमा अथ्र्याउँदै ‘यात्रु चढ्ने बेलामा पंखा घुम्न सक्छ, चोट लाग्ला भनेर बाँधेको होला ।’ भने । तर, आफुहरु जहाज चढ्दा जहाजको इन्जिन बन्द भएको उनले बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital

सबै यात्रु चढेपछि जहाज नेपालगन्जका लागि उड्यो । नेपालगन्ज ओर्लिदा पनि सुशिलाले जहाजको पहिले जसरी नै पंखा र सिढींको डन्डीमा डोरी बाँधेको देखिन । ‘अति नै संवेदनशील साधन भएकाले जहाजको पंखामा डोरी बाँधेको देखेपछि मलाई अचम्म लाग्यो,’ उनले उक्त दिनको घटना सम्झिदै भनिन् ‘मैले हातमा भएको मोबाईलले फोटो खिचे ।’ 

उनलाई यो दृश्यले एकातिर अचम्म लाग्यो, अर्कोतिर भने यात्रु बोकेर आकाशमा उड्ने यति संवेदनशील साधनमा यति लापरबाही किन गरियो भनेर मन मनै अनेक प्रश्न उब्जियो । र, उनले आफ्नो मनलाई थाम्न नसकेर सामाजिक सञ्जालमा सो कुरा सार्वजनिक गरिदिइन् । 

सामाजिक सञ्जालमा कतिले यसलाई सामान्य रुपमा अथ्र्याए, कतिपयले भने यो गम्भीर विषय भएको औल्याए । जहाज चढेको लामो अनुभव भएकी सुशीलाले यस्तो दृष्य पहिलो पटक देखेकी हुन् । तर, अहिलेसम्म श्री एयरको जहाजमा जस्तो डोरी बाँधेको देखेकी थिइनन् ।

उनले भनिन् ‘जहाजको पंखामा डोरी बाँध्नुपर्ने अवस्था किन आयो ? डोरी बाँध्नु सामान्य कुरा हो भने अरु जहाजमा किन यसरी डोरी बाँधेको देखिदैन ?’  ‘यो देखेर मलाई प्लेन चढ्न पनि मन लागेको छैन, छिटो, छरितो र आरामदायी यात्राका लागि हामी जहाज चढ्छौं, तर जहाजले यात्रुको सुरक्षामाथी खेलगाड गरिरहेका छन् ।’ उनले भनिन् ।

पछिल्लो समयमा नेपाली आकाशमा उड्ने जहाजको लापरबाहीका कारण थुप्रै हवाई दुर्घटना भएका छन् । कतिपय ठुला दुर्घटना टरेका पनि छन् । हवाई कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा, कम्पनीको विभिन्न लापरबाही, समयमा जहाज मर्मत र सर्भिसिङ नहुनु, जहाजमा आउने कुनै समस्यालाई सामान्य अर्थमा लिनु, पाईलटलाई कामको लोड र तनाव दिनु जस्ता कुराले हवाई दुर्घटना हुने गरेको विज्ञ बताउँछन् । केही समय यता श्री एयरको जहाजमा पटक–पटक विभिन्न समस्या उत्पन्न भएको समाचार नआएका भने होइनन् ।

यात्रुको सुरक्षाका लागि डोरी बाँध्ने गरेको श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख उपेन्द्र श्रेष्ठले तर्क राखे । उनले यात्रुको सुरक्षाका लागि डोरी बाँध्ने गरेको बताए । ‘कतिपय पहिलो चोटी प्लेन चढेका हुन्छन्, फोटो र भिडियो खिचाउन भन्दै उनीहरु पंखातिर गएको पत्तै पाउँदैनन्,’ प्रमुख श्रेष्ठले भने ‘यात्रुहरु पंखातिर नजाउन भनेर नै जहाजको ढोका खोल्ने बित्तिकै डोरी बाँध्ने गरिएको हो । यात्रुलाई सुरक्षा जोखिममा राखेको होइन ।’