भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु 


सेतोखरी सेतोखरी   मंगलबार, चैत २७, २०८०
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु 

संकेतिक तस्विर

नेपालगन्ज २७ चैत्र : भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन् । 

Kids Festival 2022
kanti aarogya hospital

दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन्। मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ । सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् ।

मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ । जिप चालक नैनीतालकै ३८ वर्षीय हरिशरामले अनियन्त्रित भएर जिप भीरबाट खसेको बयान दिएका छन् । जिप खसेको आवाज सुनेपछि घटनास्थलमा पुगेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबरपछि स्थानीय बेतालघाट थानाबाट अनिश अहमद र राजश्व उपनिरीक्षक कपिल कुमारको टोली घटनास्थलमा पुगेको थियो ।