योयो प्लाइउडमा जबरजस्ती ट्रेड युनियन गठन, तीन सय मजदूरको रोजगारी धरापमा

मजदूर भन्छन् हामीलाई युनियन चाहिँदैन, श्रम कार्यालयको भूमिका शंकास्पद


सेतोखरी सेतोखरी   बुधबार, चैत २८, २०८०
योयो प्लाइउडमा जबरजस्ती ट्रेड युनियन गठन, तीन सय मजदूरको रोजगारी धरापमा

कोहलपुर २८ चैत्र : बाँकेको कोहलपुर नगरपालिका–१४ मा सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिज प्रालिमा मजदूर र उद्योगको सहमतिविनै जवर्जस्ती ट्रेड युनियन गठन गर्न खोज्दा विवाद बढ्दै गएको छ । 

विगत ४ वर्षदेखि स्थापित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँ लगायत भारतका गरी तीन सय बढि मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा कार्यरत नै नरहेका गैर मजदूरलाई संगठित गरी जवरजस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि उद्योगमा कार्यरत सबैजसो मजदूर त्यसको विपक्षमा उत्रिएका छन् । 

YoYo_Plywood_Kohalpur_Factory_2-1712754601.jpg
 

मजदूरको सहमतिविनै उद्योगमा कार्यरत नरहेका व्यक्तिको फर्जी नाम राखी गठन गरिएको ट्रेड युनियन खारेजीको माग गर्दै उद्योगका मजदूरले सोमबार दिनभर नेपालगन्जस्थित श्रम कार्यालय घेराउ गरेका थिए । 
उद्योगमा कार्यरत मजदूर सुर्जा कार्की भण्डारीले आफुलाई ट्रेड युनियन नभई रोजगारी चाहिएको बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ’, भण्डारीले भनिन्,‘हामीलाई ट्रेड युनियन चाहिएको होईन रोजगारी चाहिएको छ, त्यसैले ट्रेड युनियन खारेजीको माग गरेका हाँै ।’

उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले ट्रेड युनियनका नाममा आन्दोलन गरेर बल्ल तल्ल चलेको उद्योग बन्द गराउने षडयन्त्र भएकोले आफुहरु ट्रेड युनियन खारेजीको माग गर्दै श्रम कार्यालय पुगेको बताए ।

स्थानीय रामछबिले खटिकले उद्योग बन्द हुँदा सबैभन्दा बढि मारमा आफुहरु पर्ने भएकोले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनैपनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नु भन्दा पनि उद्योगलाई स्थापित गर्न मजदूरहरु लाग्नु पर्ने बताए ।

YoYo_Plywood_koholpur_majdur_2-1712754630.jpg
 

उक्त उद्योगमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदूर संघले शान्ति रानाको नेतृत्वमा मजदूर संघ गठन गरेको छ । उद्योगका प्रवन्धक पूर्णबहादुर बिष्टले संघको नेतृत्व गरेकी राना सहितका अधिकांश सदस्यहरु उद्योगमा कार्यरत नै नरहेको ब्यक्ति भएको बताए ।

उनले उद्योगमा कार्यरत नै नरहेका फर्जी नामको छानविनै नगरी श्रम कार्यालयले ट्रेड युनियन गठन गरेकोमा आपत्ति जनाए । उद्योगमा कार्यरत सबैजसो मजदूरले ट्रेड युनियन खारेजीको माग गर्दै श्रम कार्यालय पुग्दा कार्यालय प्रमुखले कमल पौडलले गैरजिम्मेवार व्यवहार देखाएको उनको आरोप छ । 

ट्रेड युनियनकी अध्यक्ष रानाले आफुहरुले मजदूरहरुको हकहितका लागि ट्रेड युनियन खोलेको बताइन् । ट्रेड युनियनको पक्षमा लाग्ने मजदूरलाई उद्योगले कामबाट निकालेको उनको आरोप छ । ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदूरहरु उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् । 

YoYo_Plywood_kohalpur_majdur-1712754653.jpg
 

ट्रेड युनियन खारेजीको माग गर्ने मजदूरहरुलाई ट्रेड युनियनका नेताहरुले डरत्रास र धम्की दिने गरेको उद्योगमा कार्यरत मजदूर कोहलपुर–१५ निवासी शोभाराम यादवले बताए । ट्रेड युनियन गठनका नाममा आन्दोलन र धम्कीले कथमकदाचित उद्योग बन्द भए यहाँका तीन सय बढि मजदूरको रोजगारी गुम्ने भएकोले आफुहरु चिन्तित् रहेको यादवको भनाई छ ।