 
								
नेपालगन्ज ९ जेठ : भिषण हावाहुरी र वर्षाका कारण अवरुद्ध भएको बिद्युत सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरण असफल भएको छ । हावाहुरी र वर्षाका कारण सोमबार बेलुका साढे ५ बजेदेखि नेपालगन्जसहित बाँके जिल्लाभर विद्युत सेवा बन्द भएको थियो ।
नेपालगन्जका अधिकांस क्षेत्रमा प्राधिकरणले सेवा सुचारु गरेपनि पुरैना, पुरैनाी, फुल्टेक्रा, बोर्डर, परस्पुर, साहपुर्वा तथा राप्तीपारी लगायतका केही फिडरमा बुधबार बेलुका ७ बजे (यो समाचार तयार पार्दा) सम्म पनि लाईन सुचारु भएको छैन ।
विद्युत सेवा सुचारु नहुँदा ७२ घण्टादेखि सो क्षेत्रका सर्वसाधारण नागरिकले चर्को गर्मीमा निकै सास्ती खेपेका छन् । ‘करिब ७२ घण्टादेखि बत्ती छैन, ट्यांकी र धारामा पानी छैन, पंखा, कुलर चलाउन नपाउँदा गर्मीले तड्पी रहेका छौं,’ नेपालगन्ज फुल्टेक्राका दिपक सोनीले बताए ।
यो पनि पढ्नुहोस् सोमबारको हावाहुरीले चार ट्रान्सफर्मरसहित दुईसय विद्युतका पोल ढले
विद्युत नहुँदा साना बालबालिका, बृद्धबृद्धाहरुलाई समस्या परेकोछ । यसका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दा समेत विद्युत प्राधिकरणले मौनता साँधेर आफूखुसी कार्य गरिरहेकोछ ।
नेपालगन्ज उपमहानगरको फुल्टेक्रा, पुरैना, पुरैनी क्षेत्रमा पनि ७२ घण्टादेखि विद्युत सेवा बन्द रहेको स्थानीयले बताएका छन् । यस्तै प्राधिकरणले राप्तीपारीको फिडरमा पनि विद्युत सप्लाई बन्द गरेको छ । केन्द्रले नेपालगन्जको गर्मीलाई मध्यनजर गर्दै छिटो सेवा सुचारु गर्न प्राविधिक जनशक्तिलाई सही तरिकाले परिचालन गर्न नसकेको बताइन्छ ।
यो पनि पढ्नुहोस् हावाहुरीसँगै नेपालगन्जमा वर्षा, काकाकुल नेपालगन्जबासीलाई राहत
प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले प्रायः जसो सबै स्थानमा वितरण तथा प्रशारण लाइनको पोल र तारमा क्षति पुग्न जादाँ बिद्युत सेवा अवरुद्ध भएको कुरा सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रष्ट्याएपनि बुधबार बेलुकासम्म पनि सेवा सुचारु गर्न के, कति कारणले सकेन, त्यसबारे बताउन चाहेको छैन । यसबारे उपभोक्ताले जानकारी लिन खोज्दा प्राधिकरण नेपालगन्ज वितरण केन्द्र जिम्मेवारीबाट पन्छिने गरेको छ ।
केन्द्रका प्रमुख मोबाईल अफ गरेर बसेका छन् । केन्द्रले सही सूचना नदिएर गैर जिम्मेवार बनेपछि उपभोक्ता आक्रोशित भएका छन् । विद्युतको गैर जिम्मेवारी कामको प्रतिवाद गर्न यतिबेला फुल्टेक्रा, पुरैना, पुरैनाीका सर्वसाधारणहरु विद्युत कार्यालय घेराउ गर्ने तयारीमा रहेकाछन् । पुरैनाका स्थानीय युवा कलिम बागवानले बिद्युत पोल भाँचिएर बत्तिविना सोमबारदेखि सास्ती भोग्नुपरेको बताउँदै विद्युत कार्यालयले लाईन सुचारु गर्नमा आफूखुसी कार्य गरेको बताए।
उनले भने–‘पोल गाडेर विद्युत नियमित गराउनुको साटो बिजुलीको तार काटेर गए । फर्केर आएनन् । अब विद्युत कार्यालय घेराउ गर्नैपर्छ ।’
 
						
					