बाँके प्रहरीले एकै महिनामा समात्यो १२७ जना अभियुक्त


सेतोखरी सेतोखरी   बुधबार, असार ५, २०८१
बाँके प्रहरीले एकै महिनामा समात्यो १२७ जना अभियुक्त

नेपालगन्ज ५ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा विभिन्न अपराधसम्बन्धी एक सय ७२ मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।

बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार गत जेठ महिनामा बाँके प्रहरीले विभिन्न अपराधसम्बन्धी एक सय ७२ वटा मुद्दा दर्ता गरेको हो भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।

बाँके प्रहरीले जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका कार्यालयहरुबाट जेठ महिनाभरी गरिएका कार्य सम्पादनको विवरण सार्वजनिक गरेको प्रेस नोटमा उक्त कुरा उल्लेखछ ।

त्यसैगरी, १८ वर्ष दुई महिना २९ दिन कैद सजाय तोकिएका ४४ जना फरार अपराधीलाई पक्राउ गरिएको र उनीहरुबाट २३ लाख ७९ हजार दुई सय ७४ रुपैयाँ जरिवानासमेत असुल गरिएको उनले जानकारी दिए । 

Kanti Aarogya Hospital Nepalgunj

यही समयअवधिमा ६३ वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको छ । चार सय ९९ वटा ठाडो उजुरी दर्ता भएकोमा तीन सय ५१ वटा उजुरी फर्छ्यौट गरिएको, १५ वटालाई सम्बन्धित निकायमा पठाइएको र एक सय ३३ वटा उजुरी फर्छ्यौट प्रक्रियामा रहेको बाँके प्रहरीले जनाएकोछ । 

जेठ महिनामा मात्रै मोटरसाइकल चोरी गर्ने चार जना व्यक्तिलाई नौ वटा मोटरसाइकलसहित पक्राउ गरिएको, चोरी भएका सात थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, स्कुटर चोरी गर्ने दुई जनालाई स्कुटरसहित पक्राउ गरिएको, लागूऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी २९ ग्राम ३६९ मिलिग्राम ब्राउनसुगरसहित २८ जनालाई कानूनी दायरामा ल्याइएको बाँके प्रहरी प्रवक्ता डाँगीले बताए ।

बाँके प्रहरीले जेठ महिनामै नेपालगन्ज उपमहानगपालिका ४ का विनोद सोनी र वडा नबर–३ का हारुण रहिस हलवाईलाई स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँसहित पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएकोछ ।

एक करोड १७ लाख ३१ हजार आठ सय ९० रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामान, एक थान माइक्रो बस, एक थान बोलेरो गाडी, सात थान मोटरसाइकल बरामद गरी सम्बन्धित निकायमा पठाइएको तथा नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण कार्यअन्तर्गत पाँच वटा जेसिबी, ६ वटा टिपर बरामद गरी आवश्यक कारबाहीका लागि सम्बधित निकायमा पठाइएको र एक लाख ४५ हजार रुपियाँ जरिवाना गरी राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाँगीले बताए ।

ट्राफिक कारबाहीतर्फ एक हजार सात सय १३ वटा सवारी साधनलाई कारबाही गरी १४ लाख ६१ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । सवारी धनी नखुलेका एक सय २१ वटा मोटरसाइकल र स्कुटर लिलाम गरी ६ लाख १२ हजार रुपैयाँसमेत राजस्व सङ्कलन गरिएको छ । अवैधरुपमा भारतबाट ल्याइएका दुई लाख ५८ हजार रुपैयाँ बराबरको एक सय ९५ किलोग्राम ब्रोइलक कुखुराको मासु र एक हजार ८ सय वटा ब्रोइलर कुखुराका चल्ला बरामद गरी पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको छ ।

महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान÷कारबाहीतर्फ ११ वटा मुद्दा दर्ता भएकोमा संलग्न तीन जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएकोछ । 
बाँके प्रहरीका अनुसार घरेलु हिंसासम्बन्धी ६१ वटा उजुरी दर्ता भएको र ३१ वटा उजुरीमाथि छानबिन गरी फर्छ्यौट गरिएको र बाँकी अनुसन्धानका क्रममा रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएकासम्बन्धमा नौ वटा निवेदन दर्ता भएको र तीन जना फेला परी अभिभावको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेकोछ । 

समुदाय प्रहरी सहकार्यतर्फ ट्राफिकसम्बन्धी दुई सय ३० वटा सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट) सञ्चालन गरिएको, सात वटा आत्महत्या न्यूनीकरण, १५ वटा लागूऔषधविरुद्ध सचेतना, अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम ६ वटासहित विभिन्न ५२ वटा सचेतनाका कार्यक्रम समुदायमा गरिएको छ ।

त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिकासँगगको सहकार्यमा ‘लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध एकीकृत अभियान २०८१’ सञ्चालन गरिएको र जसमध्ये नेपालगन्ज क्षेत्रका ११ स्थानमा जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना, लागूऔषध उन्मुखहरुसँग फुटसल प्रतियोगिता, कक्षा ९ र १० मा अध्ययनरता विद्यार्थीबिच निवन्ध लेखन प्रतियोगिता, सचेतनामूलक सडक नाटक प्रदर्शन, जमुनाहा नाका र नेपालगन्ज विमानस्थलमा लागूऔषधसम्बन्धी डग स्निफिङ कार्यसमेत गरिएको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले आचरण बिपरीत कार्य गर्ने १ जना प्रहरी कर्मचारीहरुलाई बिभागीय कारवाही गरीएको र २ प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाईएको समेत जनाएको छ । बाँके प्रहरीले पछिल्लो समयमा हरेक महिना कार्यालयबाट सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।