जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप, चौकीदारसहित चार जना घाइते

झडपपछि भागेका ५८ जना नियन्त्रणमा, झडपको नेतृत्व गर्ने ११ जनामाथि मुद्दा चलाइदै


सेतोखरी सेतोखरी   मंगलबार, असार २५, २०८१
जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप, चौकीदारसहित चार जना घाइते

नेपालगन्ज २५ असार : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–६ आसमानपुर स्थित जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप भएको छ । गएराति(सोमबार) डडुवा गाउँपालिका–६ आसमानपुर स्थित सुधार गृहमा खाना खाने विषयमा कैदीबन्दीबीच झडप भएको थियो ।

झडपपछि सुधारगृहका ६० जना कैदीबन्दीहरू भागेका थिए । तीमध्ये ५८ जनालाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । यो समाचार तयार पार्दासम्म अझै २ जना कैदीबन्दीको फरार रहेकाले उनीहरुको खोजी जारी रहेको डिएसपी डाँगीले बताए ।

यो पनि पढ्नुहोस् बाँकेको बालसुधार गृहमा कैदीवन्दीहरुबिच झडप, १ जनाको मृत्यु १० घाइते

फरार रहेका कैदीबन्दी भारतीय 

Kanti Aarogya Hospital Nepalgunj

यता जयन्दु बालसुधार गृहका प्रमुख बिमला काउचामगरका अनुसार फरार रहेका दुई बाल कैदीबन्दी भारतीय नागरिक हुन् । उनीहरू डेढ वर्षदेखि सोही बाल सुधार गृहमा बस्दै आएका थिए ।  

चौकीदार नरुचाउदाँ भयो झडप

लामो समयदेखि सुधार गृहमा बस्दै आएका बालकहरूले आ–आफ्नो समूह बनाएका छन् । तीमध्ये चार जनाको समूहले चौकीदारलाई कुटपिट गर्ने क्रममा झडपले बृहत् रूप लिएको जयन्दु बालसुधार गृहका प्रमुख बिमला काउचामगर बताईन् ।

कैदीबन्दीहरूबीच असल चालचलन भएको एक जनालाई चौकीदार तोक्ने गरिएको छ । उनीहरूको आ–आफ्नै समूह हुन्छ । चौकीदारले त्यहाँभित्रका बालकैदीहरूलाई दैनिकीबारे जानकारी दिने र रेखदेख गर्ने काम गर्ने गरेको बाल सुधार प्रमुख काउचामगरले जानकारी दिइन् ।

‘ती समूहले चौकीदारलाई रूचाएका थिएनन्, त्यही कारण उनीमाथि हातपात भएको हो,’ उनले भनिन्, ‘ती समूह एकदमै रिसाहा छन् ।’  उनीहरूलाई चौकीदारको व्यवहार मन नपरेपछि योजना बनाएरै कुटपिट गरेको उनको भनाइ छ । उक्त चौकीदार गत असोजदेखि राखिएको हो । 

चौकीदारसहित चार जना घाइते

बालसुधार गृहमा भएको झडपमा चौकीदारसहित अन्य चार जना घाइते भएकाछन् । सोमबार झडप गर्ने चार जना मुख्य व्यक्ति हुन् । झगडाले बृहत् रूप लिएर ताला फोडेपछि अन्य कैदीबन्दीहरू पनि भागेको उनले बताइन् । 

झडपको नेतृत्व गर्ने ११ जनामाथि मुद्दा चलाइदै

जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गरेको आरोपमा प्रहरीले ११ जनालाई मुद्दा चलाउने तयारी गरेको छ । उक्त बालसुधार गृहभित्र हाल २७२ बालबन्दी राखिएका छन् । उनीहरू सबै १८ वर्षमुनिका छन् ।

अहिले ती मुख्य चार जना व्यक्ति नै नियन्त्रणमा आइसकेका छन् । मुख्य चार जनामध्ये दुई जना पटकपटक चोरी मुद्दामा सजाय काटिरहेका छन् भने एक व्यक्ति कर्तव्य ज्यानको मुद्दा खेपिरहेका छन् । त्यस्तै अर्का व्यक्तिको किर्ते कागजातको मुद्दा भोगिरहेका छन् । 

गत असोजमा पनि झगडा परेर ताला तोडफोड गरेर भागेपछि नयाँ चौकीदारलाई राखिएको थियो । नयाँ चौकीदारले गृहभित्र लागुऔषध सेवन तथा औसारपसारमा शून्य बनाएका थिए । सायद त्यसैको रिस साँधेको हुनसक्ने उनको अनुमान छ ।

बालसुधार गृहको सुरक्षाका निम्ति खटिएका प्रहरी त्यहाँभित्र प्रवेश गर्न पाउँदैनन् । सुधारगृहबाहिर समेत हतियारबिना सुरक्षामा खटिनुपर्ने भएकाले बालबन्दी भाग्न सफल भएका प्रहरीले जनाएको छ ।