नेपालगन्ज २७ कार्तिक : लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१÷८२ को बजेट पारित गरेको छ ।
कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गरेको बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार र सरकारको अनुदान ४५ करोड गरी उक्त आम्दानी खर्चको अनुमान गरिएको हो । कोषका सदस्यसचिव सानुराजा शाक्यले आउँदो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।
प्रस्तुत बजेट, नीति र कार्यक्रममा आय वृद्धि गर्न दर्शनार्थीको संख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिइएको छ ।
व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्वसम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने योजना प्राथमकितामा छन् ।
बैठकमा मन्त्री पाण्डेले लुम्बिनीको विकास र सुधारमा मन्त्रालय र आफ्नो तर्फबाट पर्याप्त सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएकाले यसबाट लुम्बिनी र यहाँका पर्यटकीय क्षेत्रले लाभ लिनुपर्ने उनले बताए ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समयको सदुपयोग गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषले अर्थ, परराष्ट्र, गृह र पर्यटन मन्त्रालयबाट यथेष्ट सहयोग नपाएको गुनासो गरे ।
बैठकले लुम्बिनीमा निर्माण गरी राम्रोसँग सञ्चालनमा नआएका बिहार, गुम्बाको अध्ययन गरी तिनको करार प्रक्रिया र अवधिमा पुनः मूल्यांकन गर्न अध्ययन कार्यदल बनाउने निर्णय गरेको छ । कर्मचारी संगठनको बदलिँदो आवश्यकताअनुरूप पुनर्संरचना गर्ने निर्णय पनि गरिएको छ । -रासस
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते