अबैध वन फँडानीमा संलग्नलाई कहिले कारबाही हुन्छ ?


अबैध वन फँडानीमा संलग्नलाई कहिले कारबाही हुन्छ ?

केको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुर स्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको वन फँडानी । तस्विर : विजय मल्ल/ सेतोखरी

रामपुर (बाँके) : वन फँडानीविरुद्ध डिभिजन वन कार्यालय बाँकेले कारबाही प्रक्रिया चलाएको बताएपनि अहिलेसम्म समूहका पदाधिकारी पक्राउ परेका छैनन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको अबैध फँडानीमा संलग्नलाई कारबाही गर्न आनाकानी भइरहेको छ । उक्त समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृती बिना नै करिव एक विघा क्षेत्रफलमा हुर्किरहेका रुख, विरुवा अबैध रुपमा कटान गरेको थियो ।

कोरोना भाइरस महामारीको मौका छोपेर सामुदायिक वन फडानी गरेको पाइएपछि सेतोखरीले समाचार प्रकासन गरेको थियो । सेतोखरीमा समाचार प्रकाशन भएपछि डिभिजन वन कार्यालय बाँकेले स्थलगत अनुसन्धान गरि कारबाही प्रकृया अगाडी बढाएको थियो ।

वन कार्यालयले कारबाही प्रकृया अगाडी बढाएको महिनादिन पुग्नै लाग्दा अबैध रुपमा वन फडाँनीमा संलग्नलाई कारबाही गर्न सकेको छैन । अझ सामुदायिक वन फडानीको समाचार प्रकाशनमा आएपछि वन फडानीमा संलग्न ब्यक्तिहरुले एक्साभेटर लगाएर काटेका रुखका ठुटा लुकाएका थियो ।

डिभिजन वन कार्यालय बाँके र सम्बन्धित निकायको मौनताले यतिबेला वन समूहले बरु उल्टै अबैध फँडानीको प्रमाणहरु नष्ट गर्ने प्रयास गरिरहेको छ । समूहलाई कानूनी कारबाहीबाट जोगाउन सत्तारुढ दलका नेता र सांसद यतिबेला सक्रिय भइरहेको स्थानीय बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

डिभिजन वन कार्यालयले उक्त वन फँडानीको घटना अनुसन्धान गर्न कोहलपुर सव–डिभिजन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीलाई अनुसन्धान अधिकृतका रुपमा तोकी जिम्मा दिएको छ । तर, उक्त कार्यालयबाट चलाइएको अनुसन्धान प्रक्रिया सुस्त हुँदा ‘वन माफिया’ ले कानूनी कारबाहीबाट उन्मुक्ती पाउने भन्दै यतिबेला स्थानीय बासिन्दा चिन्तित छन् ।

डिभिजन वन कार्यालयले अहिलेसम्म समूहका कोहीपनि पदाधिकारीलाई पक्राउ गरेको छैन, जबकी वन कार्यालयले अरु सामान्य घटनामा पनि सर्वसाधारणलाई पक्राउ गरेर हिरासतमा राख्ने गरेको हामीमाझ थुप्रै उदाहरण छन् ।

यसविषयमा बुझदा डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले वन फँडानीको अनुसन्धान प्रक्रिया जारी रहेको बताएका छन् । उनले वन फडाँनी घटना अनुसन्धान भइरहेको बताउदै अनुसन्धान अधिकृतले प्रतिवेदन पेश गरेपछि थप प्रकृया अगाडी बढाईने बताए ।

डिभिजन प्रमुख क्षेत्रीले कानूनी कारबाही प्रक्रिया अगाडी बढिसकेको बताउँदै दोषीलाई कानूनी कारबाही गरिने बताए । उनले भने–‘उक्त क्षेत्रमा कुनैपनि गतिविधि गर्न गराउन हामीले रोकेका छौं । त्यस्तो गरेको पाइएमा उनीहरु कारबाहीको भागेदार हुन्छन् ।’

सामुदायिक वनको रुख कटान गर्ने विषयमा २०७६ असार ३ गते मन्त्रालयले डिभिजन वन कार्यालय बाँकेसंग राय मागेको बताउँदै डिभिजन प्रमुख क्षेत्रीले भने–‘एक वर्षदेखि अध्ययन प्रकृया अघि बढेको रैनछ । सोही स्थानमा भवन बनाउने भन्दै संघीय मन्त्रालयबाट सूचना जारी गाएको तर, भोगाधिकारको प्रकृया पुरा नभएको पाइयो ।’

सामुदायिक वन फँडानी गरेर उक्त क्षेत्रमा बैजनाथ गाउँपालिकाको कार्यालय र शुभप्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ ।

यो पनि पढ्नुहोस्

जिल्ला वनलाई थाहा नदिई बैजनाथमा रुखहरु काटिए

जिल्ला वनले बैजनाथ रुख कटानको छानविन थाल्यो

जिल्ला वनले छानविन थालेपछि रुखका ठुटा लुकाउन थालियो