भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत, बाँकेमा आर्थिक राजधानी माग


भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत, बाँकेमा आर्थिक राजधानी माग

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नम्बर ५ मन्त्रीपरिषदको निर्णयको स्वागत गरेको छ ।

प्रदेश संसदमा निर्णायार्थ पेश गरिएको उक्त प्रस्तावका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघले अब आर्थिक राजधानी भने बाँकेमा बनाउनुपर्ने जोडदार माग गरेको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गर्दै पश्चिम नेपालको केन्द्र नेपालगन्ज, प्रदेशको राजधानी हुन सबै प्रकारले योग्य हुँदाहुँदै पनि यसलाई नजरअन्दाज गरिएको उल्लेख गरेका छन् ।

संघ लगायत बाँकेबासीले प्रदेश संरचना निर्माणको बहस शुरु हुँदादेखि हालसम्म नेपालगन्जलाई राजधानी बनाउनुपर्छ भनि संघर्ष गरेको स्मरण गरेको छ । बिज्ञप्तीमा भनिएको छ,–‘प्रदेश संसदले नाम र राजधानीको टुङ्गो लगाउँदै गर्दा फेरी पनि राजनीतिक नेतृत्वहरुको ध्यानार्कषण गराउन चाहान्छौ,– नेपालगन्ज राजधानी नहुनु पर्ने कुनै कारण थिएन ? तर किन बनाइएन् ? उहाँहरु माथि नेपालगन्ज पटक–पटक यो प्रश्न सोधिरहने छ ।’

राजधानीका सम्बन्धमा बाँकेबासीले अपेक्षा गरेको नेपालगन्ज राजधानी नभएता पनि विकल्प मध्यको सबैभन्दा पायक पर्ने भनेको भालुवाङ्ग नै भएको संघले प्रदेश राजधानीका लागि भालुवाङ्गलाई समर्थन जनाउँदै गर्दा बाँके र बर्दियाबासीका मनमा रहेका अनेकौ असन्तुष्टि, आफ्नो क्षेत्रको विकासका सम्बन्धमा व्यक्त गरिने चासो र चिन्ता यथावत रहेको जनाएको छ ।

संघले राजनीतिक, प्रशासनिक र विकासको सन्तुलनले मात्र त्यस्ता चासो, चिन्ता एवं असन्तुष्टीको अन्त्य हुने भएकाले बेलैमा गम्भीर बन्न राजनीतिक नेतृत्वलाई अनुरोध गरेको छ । प्रदेशको नाम र राजधानीका सम्बन्धमा अन्तिम निर्णय गर्दै गर्दा प्रदेश सरकारले साविक राप्ती अञ्चलमा राजधानी र साविक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरेको भनि आएका विषय प्रति गम्भीर ध्यानार्कषण भएको जनाउँदै साविक भेरी अञ्चलमा रहेका बाँके, बर्दियालाई नजरअन्दाज गरि गरिने यस्ता निर्णयले थप असन्तुष्टि बढाउने हुँदा गम्भीर बन्न नेतृत्वलाई अनुरोध गरेको छ ।

नेपालगन्जमा पटक पटक केन्द्रिय नेतृत्व आएर बाँकेलाई औद्योगिक राजधानी हो अथवा बनाउने हो भनि विश्वास दिदै गर्दा साविक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने र बाँकेको नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन किन नहुने ? यी र यस्ता निर्णयले बाँके र बर्दियालाई अर्को चिन्ता थपेको संघले जनाएको छ । तसर्थ बाँकेको नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन प्रदेश नं ५ सरकार समक्ष जोडदार माग गरेको छ ।

दाङ्ग जिल्लाको भालुवाङ्गलाई प्रदेश राजधानी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्तावलाई स्वागत एवं सर्मथन जनाउँदै उक्त प्रस्तावमा मतदान गर्न संघले अपील गरेको छ ।