भेरी अस्पताल कमिशन काण्ड

अख्तियारद्वारा नेपालगन्जका ११ व्यवसायीमाथि बिशेष अदालतमा मुद्दा दर्ता

अम्बे फर्निसिङ्गका पंकज श्रेष्ठदेखि कमला मेडिशिनका दीपेन्द्र अग्रवालसम्म


अख्तियारद्वारा नेपालगन्जका ११ व्यवसायीमाथि बिशेष अदालतमा मुद्दा दर्ता

File Photo

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगन्जमा मालसामान सप्लाई गर्ने नेपालगन्जका फर्म तथा तीनका सञ्चालक बिरुद्ध विहिबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । भेरी अस्पतालमा सामान सप्लाई गर्ने अम्बे फर्निसिङ् गार्डेनका पंकज कुमार श्रेष्ठ सहित ११ सप्लायर्स रहेका छन् ।

अख्तियारले भ्रष्टाचारको कसुरमा सजाय माग दावी गरेका फर्महरुमध्ये सबै नेपालगन्जका छन् । अख्यिारले बिशेष अदालतमा मुद्दा दर्ता गरेका फर्महरुमा अम्बे फर्निसिङ् गार्डेनका पंकजकुमार श्रेष्ठ, ओसियन ईन्टरनेश्नल तथा पश्चिमाञ्चल डिस्ट्रिब्यूटर नेपालगन्जका सञ्चालक अवनिश कुमार अग्रवाल, न्यु निजाम स्टोर नेपालगन्जका सञ्चालक कमालुद्दिन मुकेरी, बागेश्वरी विज्ञापन सेवाका  रहेका छन् ।

यसैगरी रुबी इलेक्ट्रिकल सप्लायर्सका सञ्चालक अब्दुल अलि अन्सारी, रोशनी स्टिल फर्निचर उद्योगका सञ्चालक ईजामुद्दिन खाँ, इन्फोसिस बाँके खजुराका सञ्चालक सुदीप रिजाल, श्री हनुमत स्टेसनरी एण्ड अडरसप्लायर्स नेपालगन्जका सञ्चालक राजेन्द्रकुमार सोनी, श्री कमला ईन्टरनेशनल तथा कृष्णा ईन्टरनेशनल नेपालगञ्जका सञ्चालक दीपेन्द्र अग्रवाल, श्री लुम्विनी स्टेसनरी नेपालगन्जकी सञ्चालक पुर्णीमा भण्डारी र नेपाल स्टोर नेपालगन्जका व्यवस्थापन साहिद हुसैन हलवाई रहेका छन् ।

यी ११ जना व्यवसायीलाई २० हजारदेखि एक लाख ६१ हजार पाँच सय रुपैंयासम्मको बिगो र कसुर तथा सजायको माग दावी गरिएको अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

यी फर्महरुसँगै भेरी अस्पताल नेपालगन्ज, बाँकेका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्री सहित ४ जना अस्पताल कर्मचारी बिरुद्ध अख्तियार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूणराज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेपछि अख्तियारले खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँ सहित निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगन्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अपरेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगन्जमा आर्थिक वर्ष ०७६÷०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

आयोगले माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।