सप्तरी : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ ।
प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिनुभयो । उनीहरुबाट रु तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका अनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम तीन हजारदेखि विद्युत् खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताए ।
यस अवधिमा ५० लाखभन्दा बढी बक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १४० ग्राहकको लाइन यस अवधिमा काटिएकामा १२७ जनाबाट रु ५७ लाख २४ हजार ८५३ असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारी रहेको इञ्जिनीयर साहको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजअन्तर्गत कूल ५१ हजार ९८७ ग्राहक छन् । विद्युत् चोरीमा संलग्नलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत् हुकिङ गरेर चोरी गर्नेको सङ्ख्या अहिले घट्दै गएको तर पूर्ण नियन्त्रणमा भने हुन नसकेको केन्द्रका प्रमुख यादवको भनाइ छ । -रासस
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै