संकटकालको हल्लाले सेयर बजारमा उतारचढाव


संकटकालको हल्लाले सेयर बजारमा उतारचढाव

नेपालगन्ज १२ फागुन : नेपाली सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ । नियमित कारोबार खुलेको सुरुआती समयमा मङ्गलबार २५ अंकसम्म बढेको बजार त्यसपछि भने दिनैभर रातै भयो ।

तर, एक समय ८८ अंक सम्म घटिसकेको बजारमा १ बजेपछि भने सुधार देखिएयो । यद्यपि सकारात्मक भने हुन सकेन । घट्ने अन्तर कम हुँदै गएर अन्तिममा २१ अंकले घटेर बन्द भयो ।

सोमबार २६०७ विन्दुमा रोकिएको बजार सूचक मंगलबार २५८६ विन्दुमा आइपुगेको छ । कुनै समय १२ अंकले घटिसकेको सेन्सेटिभ इन्डेक्स समेत अन्तिममा २ अंकले मात्रै घटेर ४६७ विन्दुमा बन्द भएको छ ।

यसक्रममा व्यापार समूह २६ अंकले बढ्नुबाहेक सबै उपसूचकहरु ऋणात्मक भएका छन् । उत्पादन समूह ९५ अंकले घट्दा निर्जीवन बीमा समूह ५२ अंक र अन्य समूह ५१ अंकले घटेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार प्रधानसेनापति र प्रधान न्यायाधिशको भेट भएको थियो । त्यसको भोलिपल्टै (मंगलबार) राष्ट्रिय सुरक्षा परिषद्को समेत बैठक बस्यो । यसैलाई जोडेर सरकारले देशमा संकटकाल लगाउन सक्ने हल्ला बाहिरिएपछि लगानीकर्ताको मनोविज्ञान कमजोर भएको थियो ।

संकटकाल लाग्दै छ भन्ने हल्ला सामाजिक सञ्जालमा यसरी फैलियो की सुरुमा २५ अंकसम्म बढेको बजार एकाएक घट्न थालेको थियो । त्यसपछि ब्रोकर हाउसले पनि संकटकाल लाग्न सक्ने हल्लालाई बलियो आधार दिएपछि बजार थप ओरालो लागेको थियो ।

तर, ठूला खेलाडीहरुले बजार घटेको मौकालाई भरपुर सदुपयोग गरेको बजार विश्लेषकहरु बताउँछन् । बजार घटेर तीन महिनाअघिको मूल्यमा सेयर किन्न पाएपछि एक बजेपछि खरिद चाप बढेको विश्लेषकहरुको भनाइ छ ।

मंगलबार २०५ कम्पनीको आठ अर्ब ५६ करोड रुपैयाँ बराबरको एक करोड ७७ लाख कित्ता सेयर किनबेच भए । जसमध्ये ४६ कम्पनीको मूल्य बढ्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो भने बाँकी सबैको सेयर मूल्य घटेको छ ।