लहानमा बम पड्काउने गोइत समूहको यस्तो छ नालीबेली

गोइत समूह ब्युँतिएसँगै बाँकेको सुरक्षा चुस्त पारिएको छ : एसपी राना


लहानमा बम पड्काउने गोइत समूहको यस्तो छ नालीबेली

नेपालगन्ज २ चैत : गत फागुन २१ गते सरकारले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहलाई मूलधारमा ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति स्थापना भएको घोषणा गरेका थिए । तर, गोइत समूह पुनः ब्युँतिएसँगै तराई–मधेसमा सशस्त्र समूह समाप्त भइनसकेको पुष्टि भएकोछ ।

राजनीतिक दलदेखि सुरक्षा निकायले समेत पछिल्लो पटक हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहलाई मात्र देशको आन्तरिक सुरक्षा चुनौतीका रुपमा हेरिरहँदा भूमिगतरुपमा भूषको आगो झैं अपराधिक गतिविधि गरिरहेको गोइत समूह एकाएक सक्रिय भएपछि देशको समग्र सुरक्षा संयन्त्रलाई यतिबेला टाउको दुखाई बनिरहेकोछ ।

देशको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा गुप्तचरले काम गरिरहँदा यी सबै सुरक्षा संयत्रलाई चुनौती दिदै भूमिगत गतिविधि सञ्चालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूह तराई–मधेसमा सक्रिय हुन थालेको छ ।

आईतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटनको गोइत समूहले एक विज्ञप्ती सार्वजनिक गर्दै जिम्मा लिएपछि यो समूह पुनः सक्रिय हुन थालेको संकेत मिलेको हो । सो बम विस्फोटमा परी ८ जना घाइते भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

गोइत समूहले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेकाले विस्फोट गराएको उक्त विज्ञप्तीमा उल्लेख गरेको छ । मधेसकेन्द्रित सशस्त्र गतिविधि गर्ने समूह लामो समयदेखि निस्क्रिय थिए । तर, गोइत समूहका नामबाट विज्ञप्ती जारी भएसँगै मधेशकेन्द्रित मुद्दा अघि सारेर सशस्त्र गतिविधि गर्ने समूह पुनः ब्यूँतिएको विश्लेषण सुरक्षा निकायले गरेका छन् ।

राजनीतिक संक्रमणको मौकाको फाइदा उठाउँदै गोइत समूहले हिंसा मच्चाएको छ । विस्फोट भएको झण्डै अढाई घण्टापछि छुट्टै तराईको माग गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जयकृष्ण गोइतले घटनाको जिम्मेवारी लिए । गोइत समूहको यो गतिविधिले यतिबेला देशका सबै सुरक्षा निकायको ध्यान मधेशकेन्द्रित बनेको छ ।

को हुन गाइत ?

गोइत समूहको नेतृत्वकर्ता जयकृष्ण गोइत हुन् । हिंसात्मक आन्दोलनमा रहेका बेला तत्कालीन नेकपा माओवादीको मधेस मुक्ति मोर्चामा रहेका गोइत शान्ति सम्झौता हुनासाथ जनतान्त्रिक मुक्ति मोर्चामा सक्रिय भए ।

युद्धकालमा गोइतलाई हटाएर तत्कालीन माओवादीले मातृका यादवलाई मधेस राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएपछि उनले माओवादी छाडेका थिए । त्यसपछि गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेका थिए ।

त्यतिबेलादेखि नै पटक–पटक मधेसमा हिंसा मच्चाउँदै आएका गोइतले मधेसमा आतंक सिर्जना गर्ने क्रम पुनः थालेका छन् । स्वतन्त्र तराई अर्थात् तराईलाई अलग देश बनाउने भन्दै गोइत १० साउन २०६१ भूमिगत भएका थिए ।

उनले २०६३ चैत २६ गते जारी गरेको एक विज्ञप्तीमार्फत् नेपाली शासकले तराई छोडनुपर्ने, तराई स्वतन्त्र राज्य हुनुपर्ने, तराईको शासन तराईको मूलबासीले गर्न पाउनुपर्ने, तराईको सम्पूर्ण राजस्व तराईको विकासमा खर्च गर्नुपर्ने जस्ता मागहरु अघि सारेका थिए ।

सप्तरी त्रिकौल घर भएका गोइतले पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यसपछि किसान आन्दोलन, सर्वहारामुक्ति आन्दोलन र माओवादी जनयुद्धसमेत लडेका थिए ।

यसैबीच, लहान स्थित मालपोत कार्यालयमा भएको प्रेसरकुकुर बम विस्फोटपछि उच्च सर्तकताका साथ प्रहरीले यतिबेला सो समूहका कार्यकर्ताहरुको खोजी गरिरहेकोछ ।
गोइत आफै फिल्डमा देखिँदैनन्, आफ्ना समूहका सदस्यहरूमार्फत् उनले सिर्जना गर्नसक्ने आतंकको त्रास भने तराइमा कायमै छ । लुकेर मौकाको फाईदा उठाउँदै बम विस्फोट गराउने, धम्कि दिने, फिरौती माग्ने, अपहरण तथा हत्या समेत गर्दै हिंसात्मक गतिविधि गर्ने यो अपराधिक समूह मुलतः राजनीतिक पृष्ठभूमि भन्दा पनि नेपालमा आतंकबादका रुपमा आफ्नो काम गर्दै गइरहेकोछ ।

गृह मन्त्रालयका अनुसार तीन वर्षअघि नेपालमा ४४ सशस्त्र समूह देखिएको थियो । तर, सरकारले चालेका विभिन्न सुरक्षा योजना र सशस्त्र समूहमाथिको कडा कारबाहीपछि भूमिगतरुपमै निस्क्रिय बनेको गोइत समूहमात्रै अस्तित्वमा रहेको गृहमन्त्रालयको तथ्यांकले देखाएको थियो ।

गृह मन्त्रालयले आँकलन गरेअनुसार नै निश्क्रिय रहेको गोइत समूह पुनः ब्यूतिएसंगै यतिबेला तराईको सुरक्षा चुनौती गम्भीर बनेकोछ । यद्यपी गृह मन्त्रालयका अनुसार गोइत समूहसंगै अन्य सबै सशस्त्र समूह समाप्त पारिनेछ ।

गोइत समूह ब्युँतिएसँगै बाँकेको सुरक्षा चुस्त पारिएको छ : एसपी राना

यता, मधेश केन्द्रित गोइत समूहले हिंसात्मक घटना गराउन थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाको सुरक्षामा चुस्तदुरुस्त पारेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाअनुसार हालसम्म बाँकेमा गोइत समूहका गतिविधि नदेखिएको बताए । उनले सेतोखरीसंग कुरा गर्दै भने–‘बाँकेकमा बैद्य र विप्लव समूहको गतिविधि रहेता पनि गोइत समूहको सक्रियता पाइएको छैन । यद्यपी लहानमा भएको घटनासंगै बाँकेको सुरक्षा संयन्त्र चुस्तदुरुस्त पारिएकोछ ।’

बाँके प्रहरी प्रमुख एसपी रानाका अनुसार जिल्लामा हुनसक्ने आपराधिक गतिविधिमाथि सुक्ष्मरुपमा अध्ययन गरिरहेकाछौं, हिंसात्मक गतिविधि गर्ने जुनसुकै नामका समूह भएपनि समाप्त पार्छौं । एसपी रानाले भने–‘जिल्लाका सुरक्षाका दृष्टिले देखिएका त्यस्ता ब्यक्ति, क्षेत्रमा प्रहरीले निगरानी बढाएकोछ ।’

यो पनि पढ्नुहोस्

लहान विस्फोटको जिम्मा गोइत समुहले लियो, गोइत कार्यकर्ता खोज्दै प्रहरी