नेपालगन्ज ६ चैत : विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिदका लागि ८ अर्ब ७० करोड नेपाली रुपैयाँ सहायता प्रदान गर्ने भएको छ ।
कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर आर्थत ८ अर्ब ७० करोड नेपाली रुपैयाँ वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको हो ।
विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो ।
नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको छ । यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पु¥याउन सक्ने विश्व बैंकले जनाएको छ ।
‘यो महामारीले खासगरी खोप खरिद, आपूर्ति र वितरणमा भयानक चुनौती र अनिश्चित वातावरण सिर्जना गरेको हो’, नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका निर्देशक फरिस हदाद–जर्भोसले भनेका छन्, ‘कम्तीमा ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने नेपाल सरकारको महत्वाकांक्षी योजनालाई सहयोग गर्न यस बैंकले तत्काल चालेको यो कदले नेपाल र यस बैंकबीचको बलियो साझेदारीलाई पुष्टि गर्दछ ।’
विश्व बैंकले गत चैतमा २.९ करोड अमेरिकी डलर (३ अर्ब ३० करोड रुपैयाँ) बराबरको कोभिड १९ आपतकालिन प्रतिकार्य र स्वास्थ्य तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड १९ प्रतिकार्यमा विकास साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर थप वित्त सहयोग गर्ने निर्णय भएको बैंकको भनाई छ ।
यो रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ कोख खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप बिस्तार गर्न प्रयोग हुने भएको छ । बाँकी रकम भने खोपका पहललाई सघाउन र कोभिड–१९ सँग सम्बन्धित परीक्षण, उपकरण र चिकित्सासामग्री खरीद तथा आपूर्तिमा खर्च गरिने भएको छ ।
विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एयियाका लागि अभ्यास प्रवन्ध गेल रिचर्डसनले यो सहयोग नेपाली जनताका लागि शारीरिक र नेपाल राष्ट्रको आर्थिक स्वास्थ्यको रक्षा गर्न महत्वपूर्ण सावित हुने बताएका छन् ।
विश्व बैंककाअनुसार नेपालका लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एशियाली राष्ट्रमा कोभिड १९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो ।
बिहीबार नै विश्व बैंकले नेपालबाहेक बंगलादेशका लागि ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागि ६ करोड अमेरिकी डलर बराबरको सहायता समेत घोषणा गरेको छ ।