खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द


खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

दमौली ९ चैत : खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो ।

उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ ।

‘बजारमा जनगुनासो आएपछि प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेका हो’, सहायक प्रजिअ बरालले भने,‘उक्त उद्योगले उद्देश्य विपरीतका काम गरेको अनुगमनबाट देखिएको छ ।’ उक्त उद्योगमा सामान खरिदको बिलसमेत नभेटिएको बरालले बताए । अनुगमनका क्रममा बरामद भएका तेल, घ्यू, मिठाई लगायतका अखाद्य वस्तु नष्ट गरिएको छ ।

अनुगमनका क्रममा उद्योगले साइनबोर्ड नराखेको, उत्पादनमा लेबल विवरण पूर्ण नराखेको र भण्डारण स्थलमा रहेका कच्चा खाद्य पदार्थमा लेबल नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य निरीक्षक प्रशान्त पोखरेलले जानकारी दिए । ‘उद्योगमा सामग्री उत्पादन गर्ने प्राविधिक सीप लिएका व्यक्तिसमेत नभएको स्वयं सञ्चालकले स्वीकार्नुभएको छ’, उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital

अनुगमनपश्चात् उद्योगका सञ्चालक वीरेन्द्रकुमार श्रेष्ठको समेत सहमतिमा हाल उत्पादन बन्द गरिएको छ भने उत्पादन भइसकेका वस्तुहरुको उत्पादक स्वयंले गुणस्तर परीक्षण गराउने सहमति भएको छ ।‘उद्योगलाई १५ दिनभित्र सम्पूर्ण कानुनी प्रक्रिया पूरा गराउन निर्देशन दिइएको छ,’ पोखरेलले भने, ‘साथै बिलबिजक सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएका छौँ ।’ -रासस