हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित


हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

File Photo

सिमकोट (हुम्ला) १७ चैत : हुम्लाको मुख्य यातायातको साधनकारूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो ।

आईतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगन्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ ।

तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले मंगलबार पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

काठमाडौँसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो । आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ । -रासस