कोरोनाको ‘साङ्लो’ तोड् बाँके र बर्दिया ठप्प

लकडाउन उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने


कोरोनाको ‘साङ्लो’ तोड् बाँके र बर्दिया ठप्प

बर्दिया १३ वैशाख : बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बाँके र बर्दिया जिल्ला पूर्णरुपमा ठप्प पारिएकोछ ।

भारतीय सीमानाकासंग जोडिएको यो दुई जिल्लामा अस्वभाविकरुपमा कोरोना संक्रमण दर बढ्दै जानु र संक्रमितको मृत्यु उच्च हुदै गएपछि बाँके र बर्दिया ठप्प पारिएको हो ।

समुदायमै कोरोना संक्रमण फैलिएपछि यतिबेला लुम्बिनी प्रदेशको प्रमुख शहर मध्ये एक नेपालगन्जमा कोरोनाको अवस्था नियन्त्रण बाहिर गएकोछ । कोरोना संक्रमितले यतिबेला बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कोभिड वार्ड भरिभराउ छ । थप संक्रमितलाई राखेर उपचार गर्ने बेड समेत छैन ।

भारतमा फैलिएको कोरोना संक्रमणले यतिबेला भारतबाट नेपाल आउनेको संख्या पनि बढेकोछ । यसरी नेपाल आउनेहरुमा एन्टिजेन परीक्षण गर्दा समेत कोरोना पुष्टि भइरहेकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले यसअघि वैशाख ८ गतेदेखि एक हप्ताका लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन जारी गरेको थियो । यसको केही दिनमा कोहलपुर नगरपालिकाले पनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यसको साङ्लो तोड्ने भन्दै एक हप्ताका लागि कोहलपुर क्षेत्रमा लकडाउन जारी गरिसकेकोछ ।

यहीबीच हिजो आईतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज सोमबार राती १२ बजेदेखि आगामी वैशाख २० गतेसम्मका लागि बाँके जिल्ला पूर्ण ठप्प पार्दै लकडाउन समेत जारी गरेकाछन् ।

यसैबीच, छिमेकी जिल्ला बाँकेमा कोरोनाको अवस्था उकालो लाग्दै जाँदा बर्दियाका विभिन्न क्षेत्रमा समेत अस्वभाविक रुपमा कोरोना संक्रमित बढेपछि बर्दिया जिल्लामा पनि एक हप्ताका लागी निषेधाज्ञा गरिएको छ ।

बर्दियामा निषेधाज्ञा अवधिभर औषधि उपचार, खाद्यवस्तु खरिद तथा विकास निर्माण कार्य जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु अनावश्यक रुपमा घरबाहिर ननिस्कने, भारतसंग सीमाना जोडिएका सीमा नाकाहरु तथा बाँके जिल्लातर्फ बाट हुने आवतजावत पुर्ण रुपमा नियन्त्रण गर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएकोछ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा संयन्त्रको बैठकमा बर्दियाका आठ वटै स्थानीय तहका मुख्य बजार तथा भिडभाड बढि हुने स्थानमा कडाई गर्दै निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि बैशाख १९ गते राति १२ बजेसम्म बर्दिया जिल्ला पूर्णरुपमा निषेधाज्ञा गरिएकोछ ।

बाँकेमा जारी लकडाउन र बर्दियामा जारी निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सञ्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।

यो अवधिमा कसैले लकडाउन तथा निषेधाज्ञा अवेज्ञा गरेमा तत्काल कारबाही गरिने जिल्ला प्रशासनले बाँके र बर्दियाले जनाएकोछ ।