जाजरकोट २९ वैशाख : सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् ।
जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो रहेको छ ।
त्यस्तै तिन्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाट वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशन लिमिटेड डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । वर्षेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुने गरेको उनको भनाइ छ ।
उपल्लो डोल्पाको तिन्जे डिपोमा जाने नुन केन्द्रीय कार्यालयले नै कोटा निर्धारण गर्दै आएको छ । चीनको बाटो हुँदै उपल्लो डोल्पाको क्याटो र तिन्जेमा नुन ढुवानी हुँदै आएको छ ।
अघिल्लो वर्ष कोभिडका कारण चीनले नाका नखोल्दा उपल्लो डोल्पामा आयोडिनयुक्त नुनको ढुवानी हुन नसकेको हो । यस वर्ष चीनबाटै त्यहाँ ढुवानी हुन सकेन । तल्लो तथा मध्य डोल्पामा नेपालगन्जबाट नुन ढुवानी हुने गर्दछ ।
सरकारले सदरमुकाम दुनैमा ३०० क्विन्टल, जुफालमा २०० क्विन्टल, त्रिपुरासुन्दरीको लिकुमा ४५० क्विन्टल, मुड्केचुलाको सर्मीमा ३०० क्विन्टल र जगदुल्लाको काइगाउँमा २५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गर्दै आएको छ । बर्सेनि मागका आधारमा पनि कोटा तल माथि हुनसक्ने बताइएको छ ।
अघिल्लो र यस आर्थिक वर्षमा सदरमुकाम दुनै र जुफालमा मात्र आयोडिनयुक्त नुन बिक्री वितरण हुँदै आएको छ । यस आवमा सदरमुकामबाट बाहिरका कुनै पनि डिपोमा ठेक्का नलागेका कारण आयोडिनयुक्त नुन सर्वसाधारणले खान नपाएको प्रमुख धामीले जानकारी दिए ।
धामीले भने, ‘मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले आयोडिनयुक्त नुन माग गरेका कारण १५० क्विन्टल पठाउने तयारी गरिरहेकै समयमा कोरोनाका कारण बन्द हुँदा ढुवानीमा समस्या परेको छ ।’
अघिल्लो वर्ष जुफालमा एक हजार क्विटल र दुनैमा ३०० क्विन्टल आयोडिनयुक्त नुन आएको थियो । दुर्गम तथा पिछडिएका जिल्लामा सरकारले ढुवानी भाडासहित नुन अनुदानमा दिँदा प्रतिपोका रु ९ मा बिक्री हुँदै आएको छ ।
डिपोमा नुन नभएपछि स्थानीय पसलमा महङ्गोमा ढिके नुन खरिद गरेर प्रयोग गर्न बाध्य भएको सर्वसाधारण बताउँछन् । जतिपटक नुनका लागि डिपोमा गए पनि सधैँ छैन भन्ने जवाफ आउने गरेको मुड्केचुला गाउँपालिका–७ का रामबहादुर सिंहले बताए ।
सदरमुकाम दुनै र जुफालमा नियमित आयोडिनयुक्त नुन बिक्री वितरण भए पनि सदरमुकामबाहिर बिक्री वितरण कार्य शून्य रहँदै आएको छ । सदरमुकाम बाहिरका मुड्केचुलाबाहेक अन्य स्थानीय तहले नुनको आवश्यकताका विषयमा कुनै पनि चासो नदिएको प्रमुख धामीले बताए ।
माग गरेको भए सदरमुकामको कोटाबाट काटेर भए पनि ढुवानी गर्न सकिने अवस्था रहे पनि स्थानीय सरकारले चासो नदिँदा नुन पठाउन नसकिएको उनले बताए । -रासस
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी