नेपालगन्ज ४ जेठ : बाँकेमा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कारबाही गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा जारी निषेधाज्ञा उल्लङघन गर्ने ३१६ जनालाई कारबाही गर्दै ११ हजार जरिवाना असुल गरेको छ ।
बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार मङ्गलबार मात्रै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा उल्लङ्घन गर्ने बाँकेका २ सय पुरुष र १३६ महिला गरि ३१६ जनालाई कारबाही गरिएको हो ।
यसरी कारबाही पर्नेमा तीन सय वटा मोटरसाईकल, ३०४ वटा अटो रिक्सा, ३६ वटा ट्याक्टर, २० वटा पिकअप भ्यान, ११ वटा टिप्पर र १२८ वटा साईकल यात्री रहेकाछन् ।
निषेधाज्ञा उल्लङघन गर्नेलाई ठाँउका ठाँउ केही समय ‘होल्ड’ राखी कोरोना भाइरस संक्रमणका विषयमा सम्झाई बुझाई गरी छाडिएको एसपी रानाले बताए ।
सोक्रममा २२ वटा सवारी साधनलाई कारवाही गर्दा ११ हजार जरिवाना गरिएको हो । उनका अनुसार बाँकेमा कोरोना संक्रमणको अवस्था अझै नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गरिनेछ ।