नेपालगन्ज ५ जेठ : कोभिड संक्रमितको उपचारमा प्रयोग हुदैँ आएको रेम्डिसिभिर औषधि अब नेपालमै उत्पादन गरिने भएको छ ।
नेपालमै यो औषधि उत्पादन हुने भएपछि कोभिड संक्रमितको उपचारमा सहज हुने विश्वास गरिएकोछ ।
नेपाल औषधि उत्पादक संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ ।
रेम्डिसिभिर उत्पादनको लागि संघ अन्तिम प्रक्रियामा पुगेकोछ । नेपालमा यसको परीक्षण पास भइसकेको छ, छिट्टै उत्पादनको काम शुरु गरिदैँछ ।
यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो ।
वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ ।
अस्पतालमा भर्ना भएका संक्रमितका लागि भने चिकित्सकको सिफारिसमा आयातकर्ता कम्पनी आयान हेल्थकेयर कुपण्डोलबाट रेम्डिसिभिर बिक्री गर्ने व्यवस्था मिलाइएको छ । यद्यपी नेपालमै उत्पादन हुने रेम्डिसिभिर औषधीको मूल्य कति हुने भन्ने अझैं खुलाइएको छैन ।