नेपालगन्ज १९ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ र ७ वडाका किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ ।
भ्यागुते रोगको सङ्क्रमणबाट उनीहरुका भैंसी धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जबाट खटिएको पशु चिकित्सकको टोलीले भ्यागुते रोगको पहिचान गरेको हो ।
रोग पत्ता लागेपछि राप्तीसोनारी–६ र ७ मा पर्ने फत्तेपुर क्षेत्रका ६ सय पशुलाई भ्यागुते रोग विरुद्धको खोप दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार बिरामी भैँसी तथा अन्य पशुका लागि स्थानीय तहमा रहेको पशुसेवा शाखाले औषधि खरिद गरी उपचार शुरु गरिसकेको छ ।
बिरामी परेका भैँसीमा मुखबाट पानी आउने, ज्वरो आउने, काम्ने जस्ता लक्षणहरू देखिएको थियो । औषधि उपचारपछि भैँसीहरू निको हुने सङ्केत देखिएको छ ।
घरपालुवा पशुमा रोगको प्रकोप देखिन थालेपछि केन्द्रले जिल्लाका अन्य क्षेत्रमा पनि सम्भावित जोखिमका जाँचपड्तालमा जुटेकोछ ।