असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह


असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

नेपालगन्ज २ असार : कोरोना भाइरस संक्रमणका कारण यतिबेला देशभर निषेधाज्ञा लगाइएकोछ । पछिल्लो समय कोरोना संक्रमित र यसबाट मर्नेको संख्यामा केही कमी आएपछि संक्रमणको जोखिमप्रति उच्च सर्तकता अपनाउँदै निषेधाज्ञा खुकुलो बनाउदै लगिएकोछ ।

निषेधाज्ञा खुकुलो बनाएसंग दैनिक जनजिवन सामान्य बनिरहँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ ।

२०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि असार २५ गतेलाई नै तोकिएको छ ।

२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ ।

सर्वोच्च अदालतले मङ्गलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशसँगै राजस्व विभागले आज कर दाखिला गर्ने म्याद थप गर्ने सूचना प्रकाशित गरेको हो ।