आन्तरिक उडान असार १७ गतेदेखि
नेपालगन्ज ९ असार : मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान आगामी असार १७ गतेबाट शुरु गर्ने निर्णय गरेको छ ।
उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् ।
आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उडड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।
प्राधिकरणले उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरूलाई उडान अनुमति दिनेछ ।
निषेधाज्ञा अगाडि जति संख्यामा आन्तरिक उडान हुन्थ्यो त्यसको ५० प्रतिशत मात्रै उडान हुने भएको हो । विमान कम्पनीहरूले सतप्रतिशत अकुपेन्सीमा यात्रु उडान सक्छन् ।
यसैबीच, अन्तर्राष्ट्रिय गन्तब्यमा भने भोली अर्थात बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।
२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौँ आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौँ आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौँ आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौँ आउने गरि उडान तालिका तय भएको छ ।
२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौँ आउने गरि तालिका तय भएको छ ।
२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ ।
फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयले जनाएको छ ।