नरैनापुरले ल्यायो ४९ करोड बढीको बजेट

सरकारी कोटामा डाक्टर, इन्जिनियर तथा विज्ञान बिषय निःशुल्क अध्ययन


नरैनापुरले ल्यायो ४९ करोड बढीको बजेट

नरैनापुर ९ असार : नरैनापुर गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले बजेट ल्याएको छ । असार १० गतेभित्रै पालिकाले बजेट ल्याउनुपर्ने प्रावधान छ । बाँकेका अरु सबै पालिकाले भोलि बजेट ल्याउँदैछन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले आज गाउँपालिकाको १० औं गाउँसभामा आर्थिक वर्ष २०७८/०७९ को ४९ करोड १ लाख ४६ हजार रकमको आयव्यय विवरण भएको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरे ।

बजेटमा नेपाल सरकार समानीकरण अनुदानतर्फ ११ करोड ५५ लाख, सशर्त अनुदानतर्फ १९ करोड २ लाख, विशेष अनुदानतर्फ १ करोड ४ लाख, समपुरक अनुदानतर्फ ४९ लाख, प्रदेश सरकार समानीकरण अनुदान ५४ लाख ३८ हजार, प्रदेश सरकार सशर्त अनुदान ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदानतर्फ ६० लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख र आन्तरिक श्रोत ५४ लाख ३० हजार हुने आय अनुमान गरिएको छ ।

त्यसैगरी व्ययतर्फ चालु खर्च ३० करोड ३ लाख ४६ हजार, पुँजीगततर्फ १८ करोड ९८ लाख गरी कुल जम्मा ४९ करोड १ लाख ४६ हजार हुने अनुमान गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

व्ययतर्फ मुख्यगरी कृषितर्फ १ करोड ७३ लाख, उद्योगतर्फ २७ लाख र पर्यटनतर्फ १ करोड २० लाख गरी आर्थिक विकासमा जम्मा ३ करोड २० लाख विनियोजन गरिएको छ ।

त्यसैगरी सामाजिक विकासतर्फ २० करोड १५ लाख रकम विनियोजन गरिएको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको हुँदा शिक्षा तर्फको बजेट १३ करोड ५६ लाख र स्वास्थ्यतर्फको बजेट ५ करोड ६ लाख रहेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताए ।

त्यसैगरी पूर्वाधारमा १० करोड ७९ लाख, यातायात पूर्वाधारमा ७ करोड ५४ लाख, भवन, आवास तथा सहरी विकासतर्फ २ करोड ९७ लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ५ करोड १८ लाख विनियोजन गरिएको छ ।

उक्त बजेट तथा कार्यक्रम अन्तर्गत् ‘ब्यवसायिक किसानः नरैनापुरको शान’ अभियान सञ्चालनार्थ कृषकलाई आधुनिक यन्त्र औजार, मल विउविजन एवं बजारीकरणमा एक लाख सम्मको नगद र वस्तुगत सहयोग गरी १०० जना नमूना कृषि ब्यवसायी सृजना गरिने र व्यवसायिक कृषकलाई वार्षिक उत्पादन र कारोबारका आधारमा मासिक २ हजार ‘कृषक पेन्सन’को व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

‘वन डे स्टे एट नरैनापुर होमस्टे’कार्यक्रम सञ्चालन गर्दै व्यक्तिगत र सामुहिक लगानीमा होमस्टे सञ्चालन गर्ने युवा उद्यमीलाई जनही २ लाख सम्मको नगद र वस्तुगत सहयोग गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

‘छोरी पढाउः अगाडि बढाउ’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन, सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका छात्रालाई मासिक २०० रुपैयाँ छात्राबृत्तिको व्यवस्था, कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने सबै छात्रालाई साइकलको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

सरकारी कोटामा डाक्टर, इन्जिनियर तथा विज्ञान बिषय अध्ययन गर्न चाहने बिद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइने, पढाईमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने, ‘खोजी खोजी बनाऔं साक्षर’ अभियान सञ्चालन गरी गाउँपालिकाभित्र रहेका साक्षरले निरक्षरलाई साक्षर बनाउन प्रोत्साहित गरिने र एक जना निरक्षरलाइ साक्षर गराए बापत् २ सय रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराइनेछ ।

गाउँपालिका भित्रका सबै मूल सडक, सहायक गल्ली एवं कृषि सडकहरु पिसिसी, ग्राभेल र कालोपत्रेयूक्त गराई हिलो र धुलो मुक्त नरैनापूर निर्माण गर्ने, नरैनापुरका सम्पूर्ण सडकलाई ग्राभेल गर्नका लागि १ करोड विनियोजन गरिनुका साथै ‘सफासुग्घर रोड’ कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

गाउँपालिकाबाट प्रदान गरिने हरेक सेवा, सुविधा एवं सहुलियतहरुमा महिला, दलित र अपाङ्गहरुलाई पहिलो प्राथमिकता दिई दलित समुदायका सबै बालबालिकालाई निःशुल्क पोशाक र स्टेशनरीको व्यवस्था, पर्यावरण संरक्षण अन्तर्गत् दाउराको बढ्दो प्रयोगलाई निरुत्साहित, वनजंगलको विनास नियन्त्रण र गृहणी महिलाको सुस्वास्थ्यको लागि ‘हरेक गृहिणी के भन्छः धुवाँरहित भान्छा’ कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

स्वास्थ्य तथा सरसफाई अन्तर्गत् ‘एक घर एक शौचालय’ अनिवार्य गर्ने, हरेक टोल र वस्तीमा शिक्षा तथा सरसफाई समिति गठन र परिचालन गरिने, शिक्षा तथा सरसफाई कार्डको माध्यम अपनाई गाउँपालिकाले दिने सबै सेवा सुविधाबाट वञ्चित गरी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै शौचालय निर्माण सहयोगका लागि वस्तुगत सहयोग गर्न ५० लाख व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रथामिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा अत्याधुनिक आँखा उपचार केन्द्र, सर्पदंश उपचार केन्द्र तत्काल सञ्चालन गरी आकस्मिक कक्षलाई थप सुबिधा सम्पन्न बनाउने गरी बजेटमा सुनिश्चित गरिएको छ ।

बेरोजगार र सीप विहिनहरुका लागि सीपमूलक तालिम र आयआर्जन कार्यक्रम संचालन गर्ने बजेटमा उल्लेख छ । २५० जनालाई १०० दिन बराबरको रोजगारीको व्यवस्था गर्ने गरी बजेट ल्याइएको छ ।