आजबाट अन्तर्राष्ट्रिय उडान शुरु


आजबाट अन्तर्राष्ट्रिय उडान शुरु

नेपालगन्ज १० असार : मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेकोछ ।

यसका लागि मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरिसकेकोछ । जसअनुसार आज २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्दैछन् ।

यसैगरि भोली २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौँ आउनेछ ।

त्यसैगरि २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौँ आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौँ आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौँ आउने गरि उडान तालिका तय भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै २७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौँ आउने गरि तालिका तय भएको छ ।

त्यसैगरी २८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ ।

यस्तै २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ । फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ ।

मन्त्रालयका अनुसार ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार आन्तरिक उडान भने आगामी असार १७ गतेदेखि हुनेछ । जसका लागि प्राधिकरणले उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरूलाई उडान अनुमति दिनेछ ।

निषेधाज्ञा अगाडि जति संख्यामा आन्तरिक उडान हुन्थ्यो त्यसको ५० प्रतिशत मात्रै उडान हुने भएको हो । विमान कम्पनीहरूले सतप्रतिशत अकुपेन्सीमा यात्रु उडान सक्छन् ।