स्थानीय तहको अन्तिम बजेट आज

जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष


स्थानीय तहको अन्तिम बजेट आज

नेपालगन्ज १० असार : आज देशभरका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार आज अन्तिमदिन देशभरका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि सभा गर्दैछ ।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानूनी व्यवस्था छ । सङ्घीय र प्रदेश सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् । सङ्घीय र सबै प्रदेश सरकारले कोरोनाबाट सिर्जित समस्या समाधान गर्ने, स्वास्थ्य पूर्वाधार तयार गर्ने गरी नीति कार्यक्रम र बजेट ल्याएका छन् ।

स्थानीय तहले पनि आगामी वर्षका लागि सङ्घीय र प्रदेश सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्न लागेकाछन् ।

यस वर्ष स्थानीय तहले यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्नुपर्ने चुनौती छ । स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो ।

स्थानीय तहले ७४ भएको निर्वाचनका क्रममा जनतासामु गरिएका वाचा पूरा गर्ने, आवधिक योजनालाई कार्यान्वयन गर्ने गरी बजेट ल्याउन लागेका छन् । २०७४ मा भएको निर्वाचनबाट चुनिएका स्थानीय तहका जनप्रतिनिधिको आगामी फागुनमा कार्यकाल सकिँदै छ ।

यसैबीच, बाँकेका पालिकाले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन् । यसअघि बाँकेको खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाले सभा सुरु गरिसकेकाछन् । भने नरैनापुर गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले बजेट ल्याएको छ । असार १० गतेभित्रै पालिकाले बजेट ल्याउनुपर्ने प्रावधान छ । सोही प्रावधानमा रही नरैनापुर गाउँपालिकाको १० औं गाउँसभाबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि ४९ करोड १ लाख ४६ हजारको बजेट ल्याएकोछ ।

जिल्लाका ८ पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकाले आज सभा गर्दैछन् ।