नेपालगन्ज २५ असार : आगामी आईतबारदेखि सातामा ५३ वटा अन्तर्राष्ट्रिय उडान हुने भएकोछ । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी विभिन्न मुलुकमा उडान तालिका तय भएको थियो ।
सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेसंगै आईतबारदेखि साताको ५३ वटा उडान हुने भएको हो । उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सरकारले अहिले हवाई उडान खुला गरेका गन्तब्यमा थप उडान आवश्यक भए त्यसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । तर, कोरोना भाइरसको महामारीको अवस्था हेरी तोकिएको तालिकामा समेत थपघट भने हुन सक्ने प्राधिकरणको भनाइ छ । सबै वायुसेवा कम्पनीले तोकिएका स्वास्थ्य मापदण्ड र आवश्यक कागजातको निश्चित गर्नुपर्छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान मात्र हुनेछ । यसमध्ये एउटा उडान नेपाल एयरलाइन्सको (बुधबार) र अर्को उडान एयर इण्डियाको (सोमबार) हुनेछ ।
यसैगरि यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आईतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आईतबार, बुधबार र शुक्रबार एक/एक उडान गर्ने भएका छन् ।
कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक/एक उडान गरि साताको सातै दिन जहाज उडाउने अनुमति पाएका छन् । दोहामा हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार जहाज उडाउने छ ।
साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आईतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ ।
यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ ।
जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको छ ।
एयर अरेबियाले आबुधाबीमा आईतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरको जहाज हरेक आईतबार काठमाडौं आउने प्राधिकरणको सूचनामा उल्लेखछ ।