राप्तीसोनारी गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

राप्तीसोनारीको ८२ करोड ३८ लाख बजेट सर्वसम्मत पारित

गाउँपालिकालाई टुक्र्याउने प्रस्ताव अस्विकार


राप्तीसोनारीको ८२ करोड ३८ लाख बजेट सर्वसम्मत पारित

राप्तीसोनारी (बाँके) ३० असार : राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ८२ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ । राप्ती सोनारी गाउँपालिका कार्यालयमा सम्पन्न भएको नवौं गाउँ सभा तथा बजेट अधिवेशनले सो बजेट सर्वसम्मत रुपले पारित गरेको हो ।

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेको उक्त बजेटलाई सभामा उपस्थित भएका सबै सदस्यले हात उठाएर पारित गरे । गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम भने यसअघि नै सर्वसम्मत रुपमा पारित भएको थियो । गाउँपालिकाको असार १० गतेबाट नवौं गाउँसभा सुरु भएको थियो । उक्त सभामा उपाध्यक्ष खत्रीले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकोमा लामो छलफल तथा अध्ययन पश्चात सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट गरी बजेट विनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत गाउँपालिकाले ९ वटै वडामा बजेट विनियोजन गरेको छ । जस अनुसार वडा नम्बर १ र २ मा २÷२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाखका दरले, वडा नम्बर ५ र ७ मा १ करोड ८० लाख का दरले बजेट विनियोजन गरिएको छ ।

वडा स्तरमा विनियोजन गरिएको उक्त बजेट र योजना तथा कार्यक्रमबारे सभामा वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर ओली, वडा नम्बर २ का वडाध्यक्ष मदनकुमार ओली, वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाध्यक्ष कान्छा थारु, वडा नम्बर ५ का वडाध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडाध्यक्ष जनकबहादुर थारु, वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारु, वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेत र वडा नम्बर ९ का वडाध्यक्ष महाबीर ओलीले आ–आफ्नो वडाको बजेट प्रस्तुत गरेका थिए । यस्तै गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीको क्षेत्राधिकारतर्फको बजेट पनि प्रस्तुत गरियो ।

Kanti Aarogya Hospital Nepalgunj

गाउँपालिकाले आगामी वर्षका लागि सामाजिक विकास शाखा, शिक्षा, स्वास्थ्य लगायतका लागि ७ करोड ११ लाख ६६ हजार ९ सय रुपैयाँ, आर्थिक विकास शाखा, कृषि पशु लगायतका लागि ८० लाख, पुर्वाधार विकासमा ९ करोड ३२ लाख ३७ हजार ४ सय ५१, वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड, संस्थागत विकास सेवा प्रवाहमा १५ लाख बजेट विनियोजन गरेको छ । गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न शिक्षाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न कुल २८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रभित्र पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिएर समावेश गरिएको छ ।

सभामा बजेट तथा गाउँपालिकाको समग्र विकासबारे वडाअध्यक्ष तथा सभाका सदस्यहरु चन्द्रबहादुर ओली, रामलखन थारु, जनकबहादुर थारु, झगरु थारु, गंगाराम थारु, कान्छा थारु तथा कार्यपालिका सदस्य तथा सभाका सदस्य मिनाकुमारी विष्ट, वडा सदस्य एवम् गाउँसभाका सदस्य रुद्रमणि ढकाल, टिकाराम बस्नेत, रति ओली लगायतले धारणा तथा सुझाव दिएका थिए ।

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले आर्थिक वर्ष २०७८/०७९ आफुहरुले जनताको काम गर्ने अन्तिम वर्ष भएकाले समयमै बजेट कार्यान्वयनमा लाग्न सबै जनप्रतिनिधी तथा कर्मचारीलाई अनुरोध गरे । बजेट कार्यान्वयन गर्नमा कर्मचारीको भुमिका महत्वपुर्ण हुने भएकाले जनप्रतिनिधीलाई सघाउन कर्मचारीलाई निर्देशन पनि दिए । गाउँपालिकाको समग्र विकासका लागि आफुहरुले काम गर्दै आएको र आगामी आर्थिक वर्षमा परिणाममुखी काम गरेर देखाउनुपर्ने धारणा राखे ।
गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँपालिकाको सबै वडालाई समेटेर बजेट ल्याएको बताइन । बजेटले राप्तीसोनारीको पुर्वाधार विकासका साथै विभिन्न क्षेत्र तथा वर्गलाई सम्बोधन गरेको उनको भनाई छ ।

गाउँसभामा यसअघि पेश गरिएको राप्ती सोनारी गाउँपालिकालाई टुक्र्याउने सम्बन्धी प्रस्तावलाई अहिले तत्कालका लागि सूचीबाट हटाइएको सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष थारुले सभाका सदस्यहरुलाई जानकारी दिए । ‘अहिले बजेटका विषयमा मात्रै केन्द्रित रहनुपर्ने गाउँ सभा हो, गाउँपालिका टुक्र्याउने सम्बन्धी प्रस्तावका विषयमा अर्को हिउँदे सभामा ब्यापक रुपले छलफल गर्नेछौं,’ उनले भने ।