ताप्लेजुङमा अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी


ताप्लेजुङमा अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ ४ साउन : ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी लिएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छ मध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर– ७ ओलाङ्चुङगोलाबाहेक छ वटा वडामा अलैँची खेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नम्बर– ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नम्बर– १ र ३ गरी दुई वटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् ।

मेरिङ्देन गाउँपालिकाको वडा नम्बर –३ खाम्लुङबाहेक बाँकी पाँच वटा वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नम्बर– ६ मामांखेमा अलैँची खेती गरिन्छ ।

जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दैआएको अलैँची जोनका कार्यालय ताप्लेजुङले जनाएको छ । –रासस