बाँकेमा संघीय सरकारबाट विनियोजित ८४ प्रतिशत बजेट मात्र खर्च


बाँकेमा संघीय सरकारबाट विनियोजित ८४ प्रतिशत बजेट मात्र खर्च

नेपालगन्ज १३ साउनः संघीय सरकारबाट विनियोजित कुल बजेट मध्ये ८४ प्रतिशत बजेट बाँकेमा खर्च भएकोछ । आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय सरकारबाट विनियोजित बजेट मध्ये बाँकेमा ८४ प्रतिशत कुल बजेट खर्च भएको हो ।

जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुका लागि संघीय सरकारबाट बिनियोजन भएको कुल १८ अर्ब ८५ करोड ८९ लाख मध्ये १५ अर्ब ८५ करोड २० लाख रुपैयाँ अर्थात ८४.०६ प्रतिशत खर्च भएको छ । जसमध्ये ९३.१३ प्रतिशत चालु खर्च भएको छ भने पुँजीगत बजेट ७२.६८ प्रतिशत खर्च भएको हो ।

त्यस्तै प्रदेश सरकार अन्तगर्त जिल्लामा रहेका कार्यालयहरुका लागि कुल ३ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बिनियोजन भएकोमा २ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ । जसमध्ये पुँजीगत बजेट करिब ८० प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख रामचन्द्र शर्माले जानकारी दिए ।

यस्तै जिल्लाका आठ वटा स्थानीय तहहरुले गत आर्थिक वर्षमा कुल ७६.६२ प्रतिशत खर्च गरेका छन् । गत आर्थिक वर्षको वार्षिक बजेट ७ अर्ब ५५ करोड रहेकोमा खर्च ५ अर्ब ७८ करोड भएको छ ।

यो खर्च संघीय सरकार र प्रदेश सरकारको बजेटको तुलनामा कम भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेले जनाएको छ ।