नेपालगन्ज–पोखरा उडानले थप्यो उत्साह


नेपालगन्ज–पोखरा उडानले थप्यो उत्साह

पोखराबाट नेपालगन्ज आएका यात्रुलाई स्वागत गर्दै नाट्टा केन्द्रिय अध्यक्ष अच्युत गुरागाई लगायत । तस्विर:विजय मल्ल /सेतोखरी

नेपालगन्ज १७ साउन : नेपालगन्ज–पोखरा–नेपालगन्ज उडानले यात्रुहरुलाई उत्साह थपेकोछ । बुद्ध एयरले आईतबारदेखि नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान सुरु गरेसंगै यात्रु उत्साहित बनेका हुन् ।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र पर्यटन प्रर्बद्धन मञ्च बाँकेको पहलमा नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान सम्भव भएको हो । योसंगै बुद्ध एयरले हप्ताको तीन दिन उडान भर्नेछ ।

निजीक्षेत्रको पहलमा गत फागुन ७ गते शुक्रबार नेपालगन्जदेखि पोखरा विमान सेवा शुरु गरिएको थियो । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमान चार्टर गरि उडान शुरु गरेको करिब ५ महिनापछि यो सम्भव भएको हो ।

काखे बालक बोकेर पोखराबाट नेपालगन्ज आएकी महिला र उनकी छोरी । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान शुरु भएपछि पोखरा जान र फर्कन चाहने भारतीय पर्यटकहरु काठमाडौं पुगेर पोखरा जाने आउने बाध्यता अन्त्य भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पोखरा–नेपालगन्ज उडानले भारतबाट आउने पर्यटक र पश्चिम नेपालको पर्यटन क्षेत्रलाई विशेष टेवा पुग्ने नाट्टाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाँईले बताए । वर्षौदेखि थालेको प्रयासले बल्ल पूर्णता पाएको बताउदै उनले यसबाट थोरै भएपनि पश्चिम नेपालको पर्यटनलाई विशेष टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

‘भारतीय पर्यटक लगायत आन्तरिक पर्यटकलाई समेत पोखरा भ्रमण गराउने र उताका पर्यटकलाई बाँके र बर्दिया भ्रमण गराउने उद्देश्यले यो पहल सुरु गरिएको हो ।’ नाट्टाका केन्द्रिय अध्यक्ष गुरागाँईले भने–‘हामी हर्षित भएका छौं । यसले घरेलु उडानको प्रर्बद्धनका लागि सहयोग गर्छ ।’

नेपालको पर्यटन प्रर्बद्धनका लागि एयरलाईन्ससंग सदैव समन्वय र सहकार्य गरि सहयोगी भूमिका खेल्ने बताउँदै नाट्टा केन्द्रिय अध्यक्ष गुरागाईले भने अन्तरसहरी उडानको विकास गर्नुपर्ने औल्याए ।

पोखराबाट नेपालगन्ज आएका यात्रुलाई स्वागत गरिदैँ । तस्विर: विजय मल्ल /सेतोखरी

उनले भने–‘भारतीय सीमा नाका खुला मात्र हुने हो भने नियमित रुपमा यो रुटमा उडान भर्न कुनै समस्या हुँदैन । यद्यपी यो प्रयासले घरेलु उडानलाई टेवा पु¥याएकोछ । पर्यटन क्षेत्रको विकासका लागि नेपालगन्ज पोखरा उडान निकै फलदायी हुनेछ ।’

नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर धवल शम्शेर राणाको नेतृत्वमा बाँके र बर्दियाका १८ जना पर्यटन व्यवसायी पोखरा पुगेका थिए ।

पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज–पोखरा उडानले कोरोना महामारीले मारमा परेको पर्यटन क्षेत्रलाई माथि उकास्न मद्दत मिल्ने दाबी गरेका छन् ।

उनले भने, ‘यो उडान पर्यटन प्रबद्र्धन गर्न कोसेढुंगा साबित हुनेछ । बाँके र बर्दियामा आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्छ । नेपालगन्ज–पोखरा विमान सेवाले भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सहज हुन्छ ।’

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने –‘वर्षौदेखि नेपालगन्ज–पोखरा उडानका लागि बहस, छलफल र माग भए पनि राज्यले बेवास्ता गरेकाले व्यवसायीका तर्फबाट उडान सेवा सुरु गरेका थियौं । यो सरकार र सरोकारवाला निकायलाई दवाब दिने अभियान पनि थियो । जो आजबाट पूर्णता पाएकोछ ।’

चार्टर विमानबाट उडान सुरुवात गरेपछि नेपालगन्ज–पोखरा–नेपालगन्ज हवाई उडानमा यात्रुको चाप बढ्दै गएपछि नियमित उडानका लागि बुद्ध एयर अघि बढेको हो । यसले आफूहरु उत्साहित भएको जनाउँदै अध्यक्ष सिग्देलले बर्दिया निकुञ्ज अवलोकनसँगै भारत जाने पर्यटकहरु पोखराबाट यता आइरहेकाले बर्दियाका व्यवसायी पनि उत्साही बनेको बताए ।

नेपालगन्जदेखि पोखरा उडानका लागि जादैँ गरेका यात्रुलाई विदाई गरिदैँ । तस्विर: विजय मल्ल /सेतोखरी

कोरोनाले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि नाट्टा बाँकेले बाँके, बर्दिया, कर्णालीको मुगु, प्युठान र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसँग नेपालगन्जलाई साझै जोड्ने अभियान शुरु गरेको सिग्देलले बताए ।

लामो समयदेखि बाँके र बर्दियाका पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा र नेपालगन्ज–दिल्ली हवाई उडानका लागि प्रयास गर्दै आए पनि सरकारीस्तरबाट शुरु नगरिँदा निजी क्षेत्रबाट पोखरा उडान शुरु गरिएको सिग्देलले बताए ।

बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाहका अनुसार नेपालगन्ज–पोखरा–नेपालगन्ज हवाई उडानमा यात्रु संख्या बढ्दै गएपछि उडान संख्या थपिनेछ ।

शाहले भने–‘नेपालगन्ज–पोखरा–नेपालगन्ज उडानका बारेमा हामीले तयारी नगरेको होइन । कोरोना भाइरस संक्रमण लगायतका कारणले रोकेका थियौं । आजबाट बुद्धले उडान भरेकोछ । अवस्था राम्रो हुदैँ गएमा केही दिनमै दैनिक उडान भर्ने तयारीमा छौं ।’

बुद्ध एयर नेपालगन्जका प्रमुख शाहले भने–‘४–५ वर्षदेखि प्रयास गरेपनि एक्लै केही नहुने हुदाँ स्थानीय सहयोगले यो सम्भव भएको हो । स्थानीय साथ र सहयोगले यो सम्भव भएकोले यसमा सदैव सहयोगको अपेक्षा गर्दछु ।’

उनले भने–‘अहिले साताको तीन दिन आईतबार, बुधबार र शुक्रबार १८ सिटे बीज जहाजबाट उडान भरिरहेका छौं । अवस्था राम्रो हुदैँ गएमा पछि ठूलो जहाजबाट दिनहुँ उडान भर्ने योजनामा छौं ।’

बुद्ध एयरका प्रमुख शाहका अनुसार नेपालगन्ज–पोखरा उडानमा प्रतिब्यक्ति न्यूतम ४९९५, ५५६५ र अधिकतम ७६९५ रुपैयाँ एकतर्फी भाडा लाग्नेछ । शाहले भने–‘प्याकेज अनुसार ११ हजार रुपैयाँमै नेपालगन्ज–पोखरा जानआउन, होटलमा २ रात बास, २ दिनको खाजानास्ता र होटलदेखि एरपोर्टसम्म आउनेजाने व्यवस्था गरिएकोछ । तर, यही प्याकेज अन्र्तगत पोखराबाट–नेपालगन्ज आउन चाहनेले १३९०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । किनभने पोखराबाट यता आउनेले बाँके र बर्दियाको अवलोकन गर्ने व्यवस्था गरिएकोछ ।’

नेपालगन्ज–पोखरा–नेपालगन्ज उडानको औपचारिक उद्घाटनमा सहभागिहरु । तस्विर:विजय मल्ल /सेतोखरी

पोखराबाट बुद्धको ४६१ बीच विमान लिएर नेपालगन्ज आएका पाइलट मनिष पुनले यात्रा रोमाञ्चित भएको अनुभव सुनाए । उनले भने –‘मौसम अनुकुल थियो । पोखराबाट नेपालगन्ज ३४ मिनेटमा आइपुग्यौं । त्यस्तो कुनै समस्या भएन ।’

पछिल्लो ४ वर्षदेखि बुद्ध एयरमा आबद्ध पाइलट पुनले नेपालगन्ज–पोखरा उडान भर्न कुनै समस्या नभएको र अरु क्षेत्रभन्दा सहज भएको अनुभव सुनाए । उनीसंगै चालकदलमा सहयाक चालक विजय महर्जन र एयर होस्टेज आर पजियार रहेका थिए ।

पोखराबाट नेपालगन्ज आएको उक्त विमानमा ९ पुरुष र ९ महिला थिए जसमा एक–एक बालक र बालिका रहेका थिए । भने नेपालगन्जदेखि पोखरा उडान भरेको ४६२ बीच विमानमा ६ पुरुष र ११ महिला गरि १७ जनाले उडान भरेका थिए । जसमा २ बालिका थिए ।

यता, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर राणाले वर्षौदेखि उडानको विषयमा चर्चा भए पनि विमान सेवा सुरु हुनुलाई ऐतिहासिक क्षण भएको बताए ।

‘पोखरा घुम्न चाहने स्वदेशी र भारतीय पर्यटकका लागि सस्तोे र छोटो रुट भएको छ । यसबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्रहरुको विकासमा पनि मद्दत पुग्नेछ’, मेयर राणाले भने, ‘क्यासिनो सिटीका रुपमा विकास भइरहेको नेपालगन्ज क्षेत्रका लागि नेपालगन्ज पोखरा रुटबाट पर्यटन प्रबद्र्धनमा मद्दत मिल्नेछ ।’ उनले यसपछि नेपालगन्ज–दिल्ली उडानका लागि पहल गरिने बताए ।

लामो समयदेखि बाँकेका पर्यटन व्यवसायीले नेपाल सरकारसँग नेपालगन्ज–पोखरा सोझो उडानको व्यवस्था गर्न दवाब दिँदै आएका थिए । गत फागुनमा भएको नेपालगन्जदेखि पोखरा र पोखरादेखि नेपालगन्ज चार्टड उडानले सरकारलाई दवाव दिएपनि निजि क्षेत्रबाट बुद्ध एयरले उडान भरेपछि यतिबेला नेपालगन्ज–पोखराबीचको सोझो सम्पर्क जुडेकोछ ।

आईतबार एक कार्यक्रमकाबीच पोखराबाट आएका यात्रुलाई स्वागत गरिनुका साथै नेपालगन्जदेखि पोखरा जाने यात्रुलाई विदाई गरियो । सो क्रममा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का केन्द्रिय अध्यक्ष अच्युत गुरागाँई, नाट्टा, बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, पर्यटन प्रर्बद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाह, होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, नेपालगन्जका अध्यक्ष भीम कँडेल र अग्रज व्यवसायी सञ्जय थापा लगायतका ब्यक्तिले यात्रुहरुलाई खादा ओढ्याएर स्वागत तथा विदाई गरेका थिए ।