नेपालगन्ज २३ साउन : नेपालगन्जमा अत्याधुनिक सुबिधा सम्पन्न सपिङ्ग मल सञ्चालन गरिने भएकोछ । वेस्टर्न बिजनेस गु्रपको लगानीमा लुम्बिनी प्रदेश मै पहिलो पटक अत्याधुनिक सुबिधा सम्पन्न सपिङ्ग मल सञ्चालनमा ल्याउन लागिएको हो ।
हाल तयारी अवस्थामा रहेको यस मलमा बिभिन्न ब्राण्डका शोरुमहरु, मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इन्डोर गेमिङ्ग जोन रहनेछ । यसका अलावा अन्तर्राष्ट्रिय स्तरको सैलुन, सौना तथा स्पा, फुड कोर्ट समेत रहने छ ।
नेपालगन्जमै पहिलो पटक साना तथा महिला उद्यमीलाई लक्षित गरी स–साना स्टलका रुपमा कियोस्स स्टोर अत्यन्त न्यून भाडादरमा उपलब्ध गराउने लक्ष्य मलले लिएको छ । मल भनेको किनमेल गर्ने स्थानका रुपमा मात्र नभएर मनोरञ्जन र फुर्सदको समय व्यतित गर्ने स्थान समेत भएकोले सो कुरालाई बिषेश ध्यान दिएर यसका भित्री आकर्षण तथा साजसज्जालाई समेत निर्माण गरिएको वेस्टर्न बिजनेश ग्रुपका अध्यक्ष सञ्जय थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार मलमा वेस्र्टन बिजनेस ग्रुपमार्फत वेस्टर्न मार्ट (सुपर मार्केट) समेत सञ्चालनमा ल्याउन लागिएकोछ । यसमा मल्टिब्राण्ड मोबाइल तथा ग्याजेट सोरुम, रेस्टुरेण्ट, कफी सप, फेसन सोरुम आदी समेत रहनेछ ।

अत्याधुनिक सुबिधा सम्पन्न यो मल पुर्ण रुपमा एसी जडित, क्याप्सुल लिफ्ट, यथेष्ठ पार्किङ्गको सुबिधा रहने छ । त्यस्तै मलको बाहिरी भागमा नेपालगन्जको स्थानीय स्वादका बिभिन्न परिकारका फुड स्टलहरु समेत राखिने अध्यक्ष थापाले जानकारी दिए ।
उनले भने कोभिड कहरकाबीच निजी क्षेत्रको प्रयासबाट यस क्षेत्रको व्यापार व्यवसाय प्रर्बद्धन गर्ने हेतुले सञ्चालन गरिन लागेको मललेसमग्र नेपालगन्जको व्यापार व्यवसायलाई पुर्नताजगी दिने बिश्वास लिइएको छ । उनले अगाडी थपे–‘यस किसिमको मल तथा व्यापारीक मल सञ्चालनमा आउँदा यो एउटा कोशे ढुङ्गाका रुपमा रहने छ ।’
रत्नराजमार्गसंग जोडिएको यो मल विपी चोक र धम्बोझी चोकको बीचमा रहेकोछ । ५ कठ्ठा जमिनमा निर्मित आधुनिक भवन ५० करोड लगानीमा निर्माण गरिएकोछ ।
बजारको बिबिधिकरण चल्दै आएको छ र क्रेताहरु पनि कुनै पनि बस्तु खरिद गर्नको लागि सामान्य खरिद प्रक्रियामा मात्र सिमित नभएर एउटा अनुभव वा रमाइलोपनको रुपमा पनि हेरिन थालिएको छ ।
त्यस्तै समयको बचतको निम्ति सबै प्रकारका सामानहरु एकै ठाँउमा लिने चलन बढ्दो छ । बिषेश गरि खाद्यान्न, घरायसी सरसामान, बिधुतिय उपकरण, लत्ता कपडा तथा फेसनका अन्य सामाग्रीको खरिदमा यो कुरा अत्यन्तै बढी आउने भएकाले त्यसैलाई लक्षित गरि मल सञ्चालनको तयारीमा रहेको छ । साउन अन्तिम सातादेखि मल सञ्चालन गरिनेछ ।