जुम्लाको तिलामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने


जुम्लाको तिलामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने

खलङ्गा (जुम्ला) २८ साउनः जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने भएको छ । यहाँको अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई मध्यनजर गर्दै सो कार्यक्रम लागू गरिने भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो ।

स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्र्तगत सिमी जोनकोरुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गङ्गा पोखरेलले बताइन् । कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार कार्यक्रम छनौट गर्ने निर्णय भएको उनको भनाइ छ ।

यसैगरी, पातारासी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा गुठिचौर गाउँपालिका– १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने भएको छ । स्याउ सुपरजोन परियोजनाअन्तर्गत यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भईरहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिस गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताइन् ।

लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी, बगैँचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ । जुम्ला क्षेत्र (ख) मा कार्यक्रम सञ्चालन हुन सकेको थिएन। किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनुपर्ने माग राख्दै आइराखेका थिए । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । -रासस