काठमाडौं ३२ साउन : देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् ।
चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आईतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।
बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ ।
आईतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले जानकारी दिए । बस्नेतले भने, ‘पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।’ यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउँछन् । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । लुम्बिनीमा ठूलो सङ्ख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेको भन्दै उनले ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडान महत्वपूर्ण हुने बताए । सडकको यात्रा गर्नु नपरेपछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताए ।
पर्यटनविद् डाक्टर विश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले त्यहाँसँगको हवाई उडान चितवनका लागि निकै महत्वपूर्ण हुने बताए । विभिन्न देशसँग उडानको सम्झौता भइसकेको भन्दै उनले यहाँका लागि निकट अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा हुने विश्वास व्यक्त गरे ।
विश्वमा एक अर्बभन्दा बढी बौद्ध धर्मावलम्बी भएको भन्दै उनले उनीहरुको पहिलो गन्तव्य लुम्बिनी रहेको जानकारी दिए । त्यसैले त्यहाँ सँगको चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको भनाइ छ । चितवन जङ्गल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा जङ्गल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् । –रासस
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो