भेरी अस्पतालको ठूलो लापरबाही, खाल्डो खनेर गाड्न लाग्दा बच्चाको हातमा अर्कै आमाको नाम

छानविन समिति गठन गर्ने निर्णय, बच्चा र आमाबुवाको डिएनए परीक्षण गरिने


भेरी अस्पतालको ठूलो लापरबाही, खाल्डो खनेर गाड्न लाग्दा बच्चाको हातमा अर्कै आमाको नाम

नेपालगन्ज १० भदौ : नेपालगन्ज स्थित भेरी अस्पतालले आमाबाबुलाई सुम्पिएको मृत्यु भएको नवजात शिशु खाल्डोमा गाड्ने क्रममा अर्कै बच्चाको आमाको नाम देखिएपछि तनाव सिर्जना भएकोछ ।

भेरी अस्पतालबाट नवजात शिशुको शव बुझेर लगेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६, सिमलघारीका गोविन्द विकले शव गाड्नेक्रममा शिशुको हातमा अर्कै बच्चाको आमाको नाम पाएपछि तनाव सिर्जना भएको हो ।

अस्पतालबाट मृत शिशु लिएर सिमलघारी पुगेका गोविन्दले दाससंस्कारका लागि खाल्डोमा बच्चा राखिसकेपछि बच्चाको हातमा गिता थारु नामको ट्याग देखे । ‘गिता थारु नामको ट्याग बच्चाको हातमा देखेपछि मेरो बच्चा जीउँदै छ कि भन्ने आशा जाग्यो’ गोविन्दले भने –‘गिता थारुको नाम देखेपछि खाल्डोबाट बच्चालाई निकालेर तुरुन्त भेरी अस्पताल फर्के ।’ बच्चाको दाहिने हातमा गिता थारु लेखिएको ट्याग थियो भने बायाँ हातमा चन्द्रा विक लेखिएको थियो ।

गोविन्दले घटनाक्रम सुनाउँदै भने–‘भदौ ८ गते गर्भवती २० वर्षिया श्रीमती चन्द्रा विकलाई भेरी अस्पतालमा भर्ना गराएँ । अस्पतालले २९ नम्बर वार्डमा भर्ना ग¥यो ।’ सेतोखरीसंग कुरा गर्दै गोविन्दले भने–‘विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म चन्द्राको स्वास्थ्य अवस्था सामान्य थियो । साँझ ५ बजेपछि मात्रै उनलाई व्यथा सुरु भयो । तर, भोली(९ गते) विहानसम्म पनि बच्चा जन्मिएन ।’

Kids Festival 2022
kanti aarogya hospital
add

‘विहान ८÷९ बजे सुत्केरी गराउनका लागि लगाइने पानी चढाइयो । मध्यान्ह १२ः३० मा पाठेघरको १० वटै मुख खुलिसकेको भन्दै अवस्था सामान्य रहेकाले नर्मल डेलिभरी हुने कुरा नर्सहरुले बताए’ गोविन्दले अगाडि थपे–‘नर्सहरुले ठुलो पाठेघरको मुख सानो भएको भन्दै दिउँसो एक बजे बच्चा भ्याकुमबाट निकाले । बच्चाको तौल ३ किलो ८ सय ग्राम रहेको थियो ।’ यो उनको पहिलो बच्चा थियो ।

तर, बच्चा जन्मिएको करिब एक घण्टापछि एनआइसियूमा राख्नुपर्ने भयो भन्दै नर्सहरुले बच्चालाई लिए । योबिच जन्मिसकेको बच्चा हेर्न नदिइएको उनको भनाई छ ।

‘बच्चाको अवस्था सिरियस छ । बच्चालाई न्यायो बनाउनका लागि कपडा लगायतका सामाग्री बन्दोबस्त गर्र्नुस्’ भनियो गोविन्दले भने–‘ब्लड टेष्ट गर्न लगाइयो । ल्याबबाट ब्लडको रिपोर्ट २ घण्टापछि आउनेथियो । म एनआइसियूको बाहिर बसिरहेको थिए ।’

बच्चा सिरियस भएको जानकारी दिएपनि के भएको भन्नेबारे आफूले जानकारी नपाएको विनोदले बताए । उनको साथमा दिदी पनि गएकाले उनलाई स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन,् कि जस्तो लाग्यो । साँझ ५ बजेतिरको घटना सम्झँदै गोविन्दले अगाडि भने– ‘केहि समयपछि उनीहरुले मलाई भ्याकुमको प्रयोग गरि बच्चा निकालिएकाले अवस्था सिरियस बन्यो, एनआइसियूमा भर्ना गरि थप उपचार गरेपनि बचाउन नसकेको भन्दै डेड सर्टिफिर्केटमा साइन गर्न लगाए ।’

अस्पताल कर्मचारीको ठूलो लापरबाहीका कारण पहिलो सन्तानको मृत्युको पीडामा रहेका गोविन्दले भने– ‘सुत्केरीको अवस्था जटिल भएको अवस्थामा अपरेसन गर्नुपर्छ भनेर भनेको भए वा हामी गर्न सक्तैनौ भनेको भए अर्को ठाँउमा उपचारका लागि लैजाने थियौँ ।’

यो खबरले एकाएक भेरी अस्पताल तरङ्गीत बन्न पुग्यो । गोविन्द र उनका आफन्तले भेरी अस्पतालमा घटनाको वास्तविकाता बाहिर ल्याई दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै विरोध गर्न थालेपछि बुधबार साँझदेखि भेरीमा हंगामा मच्चियो ।

एउटै बच्चाको हातमा २ फरक आमाको नामको ट्याग भेटिएकाले अस्पतालमा कार्यरत कर्मचारीको लापरबाही पुनः छताछुल्ल बनेकोछ । त्यसो त भेरी अस्पतालमा प्रया कुनै न कुनै बखेडा उत्पन्न भइरहन्छ । अस्पतालमा कार्यररत चिकित्सक, स्टाफ नर्स र कर्मचारीको लापरबाहीले विरामीको ज्यान नै गइरहेकोछ ।

यता भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले एउटै बच्चाको हातमा फरक दुई आमाको नामको ट्याग पाइएकोले समस्या उत्पन्न भएको बताए ।
उनले भने अस्पतालमा गर्भवती महिलाले जन्माएको शिशु पहिचान गर्नका लागि शिशुको हातमा आमाको नामको ट्याग राखिने गरिन्छ । तर, भुलबस एउटै बच्चाको हातमा फरक दुई आमाको नामको ट्याग लगाइएपछि समस्या भएको उनले बताए ।

यसैबीच, भेरी अस्पतालको उक्त घटनापछि अस्पताल विकास समिति, पीडित पक्ष, प्रहरी र सरोकारवालासंग छलफल गरिएको छ । छलफलले मृतक शिशु र पीडित आमावुवाको डिएनए टेष्ट गर्ने, बच्चा उनीहरुको भए नभएको यकिन गर्ने प्रक्रिया अघि बढाउने, घटनाका विषयमा छानविन समिति गठन गरीदिन जिल्ला प्रसाशन कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णय गरेको छ । छानविन छमितिबाट दोषी ठहर भएमा घटनामा संलग्नलाई प्रचलित कानून अनुसार कारबाही गर्ने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डाक्टर प्रकाश थापाले जानकारी दिए ।

हेर्नुस् भिडियो