निषेधाज्ञाको साईड ईफेक्ट : अनुगमन नहुँदा मनपरि मूल्यबृद्धि


निषेधाज्ञाको साईड ईफेक्ट : अनुगमन नहुँदा मनपरि मूल्यबृद्धि

नेपालगन्ज १६ भदौः कोरोना भाइरस संक्रमणका कारण थला परेको उद्योग ब्यापार पछिल्लो समय पुरानै लयमा फर्किन थालेकाछन् । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकै बेला बाँके सहित देशभर उद्योग, ब्यापार ब्यवसाय पुनः सञ्चालन हुन थालेका हुन् ।

संक्रमणकाबीच स्वास्थ्य सर्तकता अपनाएर खोलिएको भनिएका उद्योग, ब्यापारमा भने उद्योगी ब्यापारिले आफूखुसी मूल्य बृद्धि गर्न थालेकाछन् । अझ कोरोना भाइरस कहरकैबीच भित्रिएको चाडबाडले यतिबेला नेपालगन्जमा उपभोक्ताको ठूलो भीड समेत लाग्न सुरु भइसकेकोेछ ।भर्खरै मात्र जनैपूर्णीमा, कृष्णजन्माष्टमी जस्ता पर्व सकिएकोछ ।

कोरोनाका कारण सुस्ताएको ब्यापार व्यवसाय नजिकिदै गरेको हरितालिका तिजसंगै चाडबाडका कारण यतिबेला नेपालगन्जमा सर्वसाधरणको भीड ह्वात्तै बढेकोछ । नेपालगन्जको खाद्यान्न पसल होस्, गरगहनाको पसल वा लत्ताकपडाको पसलमा उपभोक्ताको बाक्लो भीड लागिरहेकोछ । दैनिक उपभोग्य सामाग्रीदेखि सबै क्षेत्रमा अचाक्लि लाग्दो मूल्य बृद्धि छ ।

कोरोना भाइरस कहरले थला परेको ब्यापार ब्यवसाय चलायमान भइरहँदा उद्योगी ब्यापारीले आफूखुसी मूल्य निर्धारण गरि सामान विक्री वितरण गर्न थालेपछि यतिबेला बाँके, बर्दिया लगायतका क्षेत्रमा रहेका उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुले कोरोना भाइरस कहरका कारण सबै सामाग्रीमा मूल्यबृद्धि भएको भन्दै महंगोमा बेच्न बाध्य भएको बताइरहँदा बजार अनुगमन समिति र उपभोक्ता हकहितका क्षेत्रमा क्रियाशिल निकायको ध्यायन पुग्न सकेको छैन ।

बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नामको मात्र निषेधाज्ञा लगाएकोछ । यही मौकाको फाईदा उठाउँदै बाँकेका उद्योगी, व्यापारीले लकडाउनका नाममा अचाक्लिलाक्दो मूल्य बृद्धि गर्नुका साथै कृत्रिम अभाव सिर्जना गरेकाछन् ।

उनीहरुको यस्तो हर्कतले सीमावर्ती बजार रुपैडिहामा दिनहुँ बाक्लो भीड लाग्ने गरेकोछ । दुई पैसा कममा पाउने नाममा दिनहुँ कोरोना संक्रमणको जोखिम मोलेरै सयौंका संख्यामा नेपाली भारतीय बजार जाने गरेकाछन् ।

यति मात्र होइन यतिबेला बाँकेमा निर्माण सामाग्रीदेखि, खाद्यान्न तथा दैनिक जिवनमा आवश्यक पर्ने उपभोग्य वस्तुहरुको मूल्य आकाशियको छ । कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहीरहदाँ वातावरण केही सामान्य बन्दै गएको अवस्थामा आम जनताको ढाड सेक्ने गरि भएको मूल्य बृद्धिमा बाँके प्रशासन तथा सम्बद्ध निकाय मौन रहेको भन्दै उपाभोक्ताले आक्रोस पोखेकाछन् ।