जुम्लामा भण्डारण गरेर राखेको प्याज कुहिने अवस्थामा पुग्यो, बजारीकरण हुन नसक्दा किसान चिन्तित


जुम्लामा भण्डारण गरेर राखेको प्याज कुहिने अवस्थामा पुग्यो, बजारीकरण हुन नसक्दा किसान चिन्तित

जुम्ला १७ भदौ : जुम्लाको पातारासी गाउँपालिकामा बजारीकरण हुन नसक्दा लाखौँको प्याज कुहिने अवस्थामा पुगेको छ । चैत महिनामा लगाएको प्याज जेठ महिनामा कोरेर किसानले भण्डारण गरेर राखेका छन् । तर, बजारीकरणको समस्याका कारण थन्किएको उनीहरु बताउँछन् । भण्डारण गरेर राखेको प्याज नबिक्दा किसानहरु चिन्तित छन् ।

‘पहिलो चरणको प्याज भित्र्याएर भण्डारण गरेर राखेका छौँ’, पातारासी ६ का किसान रमेश बुढाले भने, ‘पहिलो चरणको प्याज बेच्न नपाउँदै दोस्रो चरणको प्याज भित्र्याउने बेला भइसक्यो । व्यापारी खरिद गर्न आउँदैनन् । नत कुनै ठाउँबाट माग हुने गरेको छ ।’ प्याज बिक्री नहुने चिन्ताले सताएको किसान बताउँछन् ।

‘प्याजको संभावना देखेर बारीभरी प्याज रोप्यौँ’, उनले भने, ‘रोपे अनुसारको प्याज उत्पादन भयो । तर, उत्पादन अनुुसार बजार व्यवस्था नहुँदा किसान मर्कामा छौँ । उत्पादन गरेर पनि बजारको व्यवस्था नहुनु निकै दुखद्को बिषय हो ।’

रमेशको झण्डै दुई लाख रुपैयाँ बराबरको प्याज थन्किएको छ । उनको ४० क्वीन्टल प्याज थन्किएको हो । केही कुहिएर नष्ट भइसकेको छ । अहिले भारतीय प्याज नेपाली बजारमा आइसकेकोले आफूहरुको प्याज बिक्री हुन नसकेको किसान बताउँछन् । उनले भने, ‘गत वर्ष प्याजको माग ह्वातै बढ्यो । त्यही भएर यो वर्ष बढी क्षेत्रफलमा प्याज खेती गरियो । तर, अहिले बजार भएन । घरमै भण्डारण गरेर थन्काउनु पर्योै ।’

Kids Festival 2022
kanti aarogya hospital
add

भारतीय प्याजका कारण यहाँको प्याजले मूल्य पाएको छैन । उनले भने, ‘प्याजको बजारीकरणको लागि स्थानीय तह र सरोकारवाला मौन छन् । गत वर्ष उनले २१ क्वीन्टल प्याज बेचेका उनले एक लाख पचास हजार रुपैयाँ कमाएका थिए ।

६ वर्षदेखि व्यावसायिक प्याज खेती गर्दै आएका उनले वर्षेनी न्यूनत्तम ३ लाख रुपैयाँ भित्र्याउँछन् । प्याजसँगै काउली र गाँजर खेती पनि गरिरहेका छन् । ‘पहिले थोरै प्याज लगाउँथें। थोरै रुपैयाँ कमाउँथें । अहिले धेरै प्याज लगाउँछु । धेरै रुपैयाँ कमाउँछु । उनले भने, ‘प्याज लैजाने बजार नहुँदा समस्या भइरहेको छ ।’ प्याजको बजारको खोजी गरिदिन आग्रह गरिरहेको उनले बताए ।

प्याज खेती गरेबाट अर्काको भर पर्नु परेको छैन । उनको गाउँमा दस लाख रुपैयाँ बराबरको प्याज छ । सबैभन्दा बढी प्याज उत्पादन गर्ने उनी नै हुन् । गाउँमा १ सय ५ घर घरधुरी छ । सबै घरमा थोरबहुत प्याज खेती हुन्छ । अहिले प्याजमा किरा लागेको छ । यही अवस्थामा प्याज थन्काउनु परेको खण्डमा निकै घाटा हुने किसान बताउँछन् । पातारासीमा सबैभन्दा बढी प्याज उत्पादन गर्ने गाउँ नै लोर्पा हो ।

गाउँसम्म सडक पुगेको छ । तर, प्याज खरिदको लागि व्यापारी पुग्न सकेका छैनन् । यहाँका किसानले प्रतिकेजी ४० रुपैयाँमा प्याज उपलब्ध गराउदा पनि व्यापारीले चासो नदिएको उनीहरु बताउँछन् ।
जुम्लाको एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा प्याज खेती हुन्छ । चन्दननाथ नगरपालिका १ तलिचौरलाई प्याजको भण्डारणका रुपमा हेरिँदै आएको छ । गत वर्ष यहाँको प्याज सुर्खेत, नेपालगन्ज, काठमाडौँ, बुटवल, जाजरकोट कैलालीसम्म पुगेको थियो । गत वर्ष बारीमै ७० रुपैयाँ केजीमा प्याज बेचेको किसान बताउँछन् ।