१६ खर्ब ३२ अर्बको संशोधित बजेट सार्वजनिक


१६ खर्ब ३२ अर्बको संशोधित बजेट सार्वजनिक

नेपालगन्ज २५ भदौ : सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८÷७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् ।

१६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ । पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।

वित्तीय हस्तान्तरणतर्फ विनियोजितमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड (८४.११ प्रतिशत) र पूँजीगततर्फ ६१ करोड ५५ अर्ब (१५.८९ प्रतिशत) छुट्याइएको छ । राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड, वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

चालु, पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट ब्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने सरकारले जनाएको छ । यो परिपूर्ति गर्न सरकारले २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋण र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यस्तै अर्थमन्त्री शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

यसैगरि राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ बाट प्रभावित व्यवसाय पुनरुत्थानका लागि थप रकमको व्यवस्था गरेको बताएका छन् ।

उनले कोभिड–१९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

उनले स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको उल्लेख गरे ।