महेन्द्रराजमार्गमा मान्छे खाने बाघको ‘मार्चपास’, नियन्त्रणमा लिन हात्ती र सेना परिचालन

(स्थलगत रिपोर्ट)


महेन्द्रराजमार्गमा मान्छे खाने बाघको ‘मार्चपास’, नियन्त्रणमा लिन हात्ती र सेना परिचालन

तस्विरहरु : दामोदर भण्डारी /सेतोखरी

गाभर(बाँके) २९ भदौ : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत पर्ने बाँके जिल्लाको अगैया–कुशुम सडकखण्डमा दुर्लभ २ वटा पाटेबाघले दिनहुँ सडकमा मार्चपास गरिरहेकाछन् । आईतबार ४५ वर्षिय पुरुषलाई महेन्द्रराजमार्ग अन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर २ वटा पाटेबाघले खाएका थिए ।

मान्छे खानु दुईदिन अघिदेखि नै गाभर सडकको वरपर दुईवटा बाघ घुमिरहेको स्थानीय बासिन्दाले बताए । मान्छे खानु अघिल्लो दिन दुईवटा पाटेबाघ गाउँमै पसि एउटा गाई र एउटा बाछो मारिदिएका थिए ।

मान्छे खाएको ठाँउमा सोमबार निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै पुग्दा ती दुई बाघ आधा बचेको मान्छेको शरिर नजिकै बसेर टुलुटुलु हेरिरहेका थिए । करिब २ सय मान्छे घटना स्थलमा पुगेपनि ती दुई बाघ कतै हलचल गरेनन् ।

स्थानीय कुमार खड्काले सोमबार ६ पटकसम्म दुई वटा बाघ राजमार्गको वरपर देखा परिरहेको बताए । मङ्गलबार फेरि ती दुईवटै बाघ मान्छे खाएको घटना स्थल नजिकै राजमार्गमा देखापरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

मोटरसाईकलमा पूर्वबाट पश्चिमतर्फ गइरहेका दुईजनामाथि ती दुईवटा बाघले आक्रमण गर्न खोजे तर, कसैलाई केही भएन । अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने हो की भनेर त्रसित भएकाछन् ।

स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँमा नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले डरले दैनिक कामहरु समेत गर्न नसकेको भन्दै सरकारले बस्ति नै सारिदिनुपर्ने माग गरे ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले थप कुनै घटना हुन नदिन दुईवटा घरपालुवा हात्ति र ठूलो संख्यामा सेना परिचालन गरेको जानकारी दिए ।

प्रमुख संरक्षण अधिकृत साहले ती दुईवटा बाघ भर्खर माउबाट छुट्टिएका रहेको जानकारी दिँदै स्थानीय जनतालाई भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए । उनले ती दुईवटा बाघलाई नियन्त्रणमा लिन प्राविधिक टोली पनि आइसकेको बताए ।

उनले भने–‘हामीले हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउन लागिरहेका छौं । दिनभर हात्ती र सेनाबाट गस्ती गराइरहेका छौं । र, म आफैपनि दैनिक घटना स्थल पुगिरहेकोछु ।’

साहले मान्छे खाएको ठाँउ र अन्य दुई वटा ठाउँमा गरि तीन ठाँउमा सेन्सर क्यामेरा जडान गरिएको र क्यामेराको ट्रयापमा परे थप अनुसन्धान हुने बताए ।