स्थानीय तहको अनुगमन

भेरी डिष्टलरीको बद्मासी : मापदण्ड विपरित सञ्चालन, तीन सय हेक्टर जमिनमा लगाइएको बाली नष्ट

सूचिकृत पनि छैन, कर पनि तिरेन


भेरी डिष्टलरीको बद्मासी : मापदण्ड विपरित सञ्चालन, तीन सय हेक्टर जमिनमा लगाइएको बाली नष्ट

मापदण्ड विपरित सञ्चालनमा रहेको भेरी डिष्टलरी एण्ड एलाइट इण्डिस्ट्रीज प्रालिबाट निस्केको विषाक्त फोहोर । तस्विर : सेतोखरी

डुडुवा (बाँके) ११ असोज : वर्षौदेखि बाँके डुडुवाका स्थानीयको मानव स्वास्थ्यमाथी खेलवाड गर्ने एक मदिरा कम्पनीलाई व्यवस्थापनका लागि पहल थालिएको छ । डुडुवा गाउँपालिका वडा नम्बर–४ मोल्हुपुर्वामा सञ्चालित भेरी डिष्टलरी एण्ड एलाइट इण्डिस्ट्रीज प्रालिबाट निस्कने फोहरको प्रभावकारी व्यवस्थापन नगर्दा मानव जीवनमा प्रतिकुल असर पारेको छ ।

स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ भने त्यस आसपासका नागरिकलाई त्यसबाट निस्कने फोहरको दुर्गन्धले स्वास्थ्यमाथी प्रत्यक्ष असर पुर्याएको छ । स्थानीयको जनगुनासो व्यापक बढेपछि गाउँपालिका कार्यालयले चासो लिएको हो ।

उद्योग स्थापना गर्ने तर, त्यसको मापदण्ड अनुसारको व्यवस्थापन नगर्दा कृषि, पशु चौपाया तथा मानिसमा प्रत्यक्ष प्रभाव पारेको गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताइन । उनले शुरुमा मिल प्लान्ट स्थापना गर्ने भनेर झुक्काइ करिब एक दशक अघि स्थापना गरिएको मदिरा उद्योगले अहिले पुरै गाउँपालिकाबासीलाई नै वेवकुफ बनाएको छ । मदिरा उद्योगबाट निस्कने फोहरलाई सिधै डुडुवा नाला र खेतमा फाल्ने काम गरिएको छ, भने त्यसबाट निस्किएको फोहरलाई दानाको रुपमा पुनः प्रयोग गर्नले झन् बढी दुर्गन्र्धित बनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

गाउँपालिका कार्यालयले सोमबार गरेको अनुगमनका क्रमममा उद्योग स्थापनापछि प्रभावकारी फोहर व्यवस्थापन, टेण्डर प्रक्रिया, तारबारको अभाव, जस्ता विभिन्न मापदण्डको सामान्य रुपमा पनि पालना नगरेको र स्थानीय सरकारसंग सूचिकृत दर्ता समेत नभई सञ्चालनमा रहेको पाइएको छ ।

पालिका उपाध्यक्ष शाहिदा बानो नेतृत्वको अनुगमन टोलीले उद्योगको उत्पादन, भण्डारण, आयात, फोहर व्यवस्थापन तथा दैनिक बिक्रि वितरणको अवस्था, स्थानीय दर्ता तथा कर लगायतका बारेमा जानकारी लिएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।

अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले उद्योगप्रति नागरिकहरुको जनगुनासो बढ्दै गएकाले त्यसको व्यवस्थापन तथा नियमन गर्न आवश्यक रहेको भन्दै आजै अनुगमनपछि लिखित सुझावसहित ताकेता गरिएको बताए । स्थानीय सरकार अन्र्तगत रहेको उक्त उद्योगले वर्षौदेखि स्थानीय कर तिरेको छैन, भने उल्टै स्थानीयको कृषि बाली नष्ट गरेको छ ।

उद्योगको फोहरले डुडुवा गाउँपालिका वडा नम्बर–४, ३ र २ अन्र्तगत करिब ३०० हेक्टर क्षेत्रफलमा लगाइने धान र गहुँ बालीलाई प्रत्यक्ष नोक्सानी पुर्याएको गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले बताए । उद्योगबाट निस्कने फोहर सिधै बाहिर फालिएको उक्त क्षेत्रलाई निषेधित समेत नबनाउँदा जोखिम बढेको छ ।

उद्योगको प्रभावकारी व्यवस्थापन गर्नका लागि गाउँपालिकाले कडाइ गर्ने जनाएको छ । अनुगमन टोलीमा उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव, कृषि शाखा प्रमुख सुशील शर्मा, इन्जिनियर प्रकाश शाही, सुरेन्द्र बर्मा लगायतको सहभागिता रहेको थियो ।