नेपालगन्ज १८ असोज : नेपालमा फक्सवागन टाइगुन एसयूभी सार्वजनिक भएकोछ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालि फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको हो ।
नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डाक्टर थोमस प्रिन्जले एक समारोहकाबीच एसयूभी सार्वजनिक गरेका हुन् ।
नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्डइन्जिन रहेको छ । यसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ ।
नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभी गाडीहरुका लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च भएपछि कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको जनाइएको छ ।
फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
यता होटल र अटोमोबाइल क्षेत्रमा लामो समयदेखि काम गरिरहेका नेपालगन्जका सिताराम यादवले फक्सवागन गाडीको शोरुम पाएका छन् । नेपालगन्जको पहिलो स्टार भेरी होटलबाट व्यवसाय शुरु गरेका यादवले अब कारको ब्यवसाय पनि गर्न थालेका छन् ।
उनले नेपालगन्ज–कोहलपुर सडकखण्डमा पर्ने गनापुरमा फक्सवागन गाडीको शोरुम स्थापना गरेका छन् । भेरी अटो मोबाइलको नाममा डिलरशीप लिएका यादवले फक्सवागन गाडी यही दशैंदेखि विक्री गरिने सेतोखरीलाई जानकारी दिए ।
विश्वमै प्रसिद्ध मानिएको फक्सवागन जर्मनी गाडी हो । नेपालगन्जमा जडो गाडेर बसेका हुण्डाई, सुजुकी, किया लगायत कम्पनीका गाडीसंग यादवले फक्सवागन गाडीको प्रतिस्प्रर्धा गर्नुपर्नेछ ।