नेपालगन्ज १८ असोज : बाँकेको जानकी गाउँपालिका–२ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुर्ब्यवहारको घटनामा प्रहरीले माफी मागेको छ ।
वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुर्ब्यवहारको प्रयास गरेको थियो । सोही क्रममा असइ एसके चौधरीले पत्रकारको क्यामेरा थुत्ने र गलहत्याउने काम गरेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टिम, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेबिच आज भएको छलफलमा असइ चौधरीले माफी मागेका हुन् ।
‘चौधरीले हाम्रो छलफलमै गल्ती भएको भन्दै माफी माग्नुभयो’ महासंघका अध्यक्ष भण्डारीले भने–‘पत्रकारहरुको सुरक्षाका लागि महासंघ प्रतिबद्ध छ ।’
वडाअध्यक्ष भने अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पत्रकारमाथि आक्रमण गर्ने भनि वडाअध्यक्ष गुप्ताले सुनियोजित योजना बनाएर बसेको बाँके प्रहरीले जनाएको छ ।
छलफलका क्रममा एसपी, डिएसपी र पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारी, सचिव कमल डाँगीका सामु सो समयमा ड्यिुटीमा खटेका प्रहरी कमाण्डले पत्रकारहरु आएपछि आक्रमण गर्ने भनि वडाअध्यक्ष गुप्ताले सुनियोजित योजना बनाएर बसेको आफूले जानकारी पाएको ती प्रहरी कमाण्डरले बताए ।
उनले भने –‘महिलाहरुलाई अगाडी सारेर पत्रकारमाथि आक्रमण गर्ने हो भनि योजना बनाएर बसेका रहेछन् । धेरै प्रहरी रहेकाले त्यसो हुन पाएन ।’
पत्रकार महासंघ बाँकेले आईतबार नै विज्ञप्ती जारी गरि पत्रकारलाई दुर्ब्यवहार गर्नेमाथि कारबाहीको माग गरिसकेकोछ । वडाअध्यक्ष गुप्ता अहिलेसम्म सम्पर्कमा नआएकाले महासंघमा गल्ती स्वीकार नगरे उनीमाथि कानूनी कारबाहीका लागि अगाडी बढ्ने महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताए ।
थप समाचार
‘वडाअध्यक्ष गुप्ताले ‘पत्रकार हो’ भन्ने थाहा पाउने वित्तिकै आक्रमण गर्न समर्थकलाई उकासेका थिए’