जानकीमा बजार अनुगमन : म्याद गुज्रेको खाद्य पदार्थ र अबैध मदिरा नष्ट


जानकीमा बजार अनुगमन : म्याद गुज्रेको खाद्य पदार्थ र अबैध मदिरा नष्ट

जानकी २१ असोज : बाँकेको जानकी गाउँपालिकाले चाडपर्वको समयमा हुनसक्ने मूल्यबृद्धि तथा कालोबजारीलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ । बिहीवार गाउँपालिकाको वडा नम्बर–६ स्थित पिप्रहवा बजारमा अनुगमन गरिएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन ।

अनुगमनका क्रममा म्याद नाघेका उपभोग्यवस्तु, अखाद्य तेल, दर्ता नगरेरै मदिरा तथा सुर्तीजन्य बस्तुको बिक्री बितरण गरेको पाईएको उनले बताईन् ।

पिप्रहवास्थित खुदरा किराना एण्ड खाद्य स्टोर, प्रमोद गुप्ता स्टोर एण्ड सप्लायर्स, सुवोध स्टोर र रौनक जनरल स्टोरमा अनुगमन गर्दा १४ हजार २ सय ११ बराबरको म्याद गुज्रेको खाद्य पदार्थ र अनुमति नलिईकिन बिक्री वितरणको लागि राखिएको ४ हजार बराबरको मदिरा र सुर्तीजन्य पदार्थ जफत गरेर नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका महेश्वर पौडेल, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका विवेक सुवेदी, वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालयका चौलागाई, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम, इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका इन्चार्ज प्रहरी नायव निरीक्षक रुद्रबहादुर रावल सहितको टोलीले बजार अनुगमन गरेको जानकी गाउँपालिका बजार अनुगमन समितिका संयोजक जितबहादुर श्रेष्ठले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार, बिहीवार पिप्रहवा बजारका किराना पसलसँगै अन्नपूर्ण भोजनालय, पाल ट्रेडर्स, मेडिकल लगायत १० वटा पसलको अनुगमन भएको थियो । अनुगमनका क्रममा धेरै पसल र व्यवसायीलाई सचेत गराईएको छ ।
चाडपर्वको बेला उपभोक्ता ठगिन नदिनको लागि गाउँपालिकाले नियमित रुपमा अनुगमन कार्यलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।