मोतीपुर झडप : गोली लागि ४ जनाको मृत्यु, ९ जनाको अवस्था गम्भीर

झडपमा १६ प्रहरीसहित ३२ जना घाईते


मोतीपुर झडप : गोली लागि ४ जनाको मृत्यु, ९ जनाको अवस्था गम्भीर

नेपालगन्ज २४ असोज : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएका समूहसँगको झडप हुदाँ सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएकाछन् । यद्यपी यो समाचार तयार पार्दासम्म मृतकको पहिचान खुलिसकेको छैन ।

मोतीपुर झडपमा गोली लागि गम्भीर घाइते भएका मध्ये उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा चार जनाको मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म प्राप्त खबर अनुसार घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

बुटवल प्रहरीका अनुसार यतिबेला उक्त झडपमा परि घाइते मध्ये मेडिकल कलेजमा ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ । भने लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १६ जना सर्वसाधारण र १६ जना प्रहरी गरि जम्मा ३२ जना घटनामा घाइते भइ उपचारत रहेका छन् ।

आईतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा झडप भएको थियो । अवस्था नियन्त्रण बाहिर पुगेपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

मोतीपुरको झडपपछि अवस्था असामान्य बनेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै आईतबार ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।

पूर्वमा तिनाउ नदी (बुटवल–१७ शिवनगरदेखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भाग (धन्दापुर सौंरहिया)सम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको हो ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र (करिडोर)को अतिक्रमण हटाउने क्रममा झडप भएपछि आईतबार सशस्त्र प्रहरीले गोली चलाएको थियो । रुपन्देही प्रशासनले यतिबेला बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेकोछ ।

यो पनि पढ्नुहोस्

झडपपछि अवस्था असामान्य बनेपछि मोतिपुर क्षेत्रमा कर्फ्यू जारी