अब निजी हेलिकोप्टरबाट उद्दार गरिने, गृहमन्त्री खाँणले निजी हेलिकोप्टर ‘स्ट्याण्डबाई’ राख्न निर्देशन

निजी हेलिकोप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिने


अब निजी हेलिकोप्टरबाट उद्दार गरिने, गृहमन्त्री खाँणले निजी हेलिकोप्टर ‘स्ट्याण्डबाई’ राख्न निर्देशन

File Photo

नेपालगन्ज ३ कार्तिक : विपत् व्यवस्थापनमा निजी हेलिकोप्टर प्रयोग गर्ने सरकारले निर्णय गरेकोछ । अविरल वर्षापछि आएको बाढी–पहिरो र डुबानमा परेकाहरूको खोजी तथा उद्दारमा निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय सरकारले गरेको हो ।

तीन दिनदेखि लगातार भएको वर्षपछिको विपतमा नेपाली सेनाको मात्रै हेलिकोप्टर प्रयोग भएकोमा अपुग हुने देखिएपछि गृह मन्त्रालयले निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय गरेको छ । देशभर नै निरन्तरको बर्सातपछिको बाढी–पहिरो र डुबानमा परेकाहरूको खोजी तथा उद्धारकार्यका लागि गृहमन्त्री बालकृष्ण खाँणले निजी हेलिकोप्टर पनि ‘स्ट्याण्डबाई’ राख्न लगाउने निर्णय गरेका हुन् ।

बुधबार बिहान गृहमन्त्री खाँणको पहलमा मन्त्रालयमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला, पर्यटन मन्त्रालयका वायुसेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायुसेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो ।

बैठकमा विपत्मा परेकाहरूको खोजी तथा उद्धारमा निजी हेलिकोप्टर प्रयोग गर्नुपर्ने ब्रिफिङ भएको थियो । निजी वायुसेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपतमा परेकाहरूको खोजी तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको बताएका थिए । उनले बैठकमा निजी वायुसेवा कम्पनीसँग ३५ हेलिकोप्टर भएको पनि जानकारी दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

निजी क्षेत्रका हेलिकोप्टहरू कहाँ छन् भन्ने सूचना एसोसिएसनले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकता अनुसार खटाउने सहमति पनि भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले त्यसको समन्वयन गर्नेछ । निजी हेलिकोप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिने पनि सहमति भएको छ ।