आन्दोलनरत मेडिकल कलेजका कर्मचारीको माग पुरा नहुने

संस्थालाई भार पर्ने कुनैपनि सम्झौता गरिदैंन : डाक्टर कनोडिया


आन्दोलनरत मेडिकल कलेजका कर्मचारीको माग पुरा नहुने

नेपालगन्ज ४ कार्तिक : आन्दोलनरत कर्मचारीको माग पुरा नगर्ने नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन पक्षले प्रष्ट्याएकोछ । नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलन गरी मेडिकल कलेजको ब्यवस्थापन पक्षले आन्दोलनरत कर्मचारीले अघि सारेका माग अहिलेको परिस्थितीमा पुुरा गर्न नसकिने प्रष्ट्याएको हो ।

मेडिकल कलेजका कर्मचारीहरु कार्तिक १ गतेदेखि तलब बृद्धि लगायत ७ बुँदे माग राखेर आन्दोलनमा छन् । उनीहरुले प्रशासन, अस्पताल लगायतमा ताला लगाएर इमरजेन्सी बाहेक सबै सेवा बन्द गरेका छन् ।
पत्रकार सम्मेलनमा कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेशकुमार कनोडियाले संस्थालाई भार पर्ने कुनै पनि सम्झौता नगर्ने बताए ।

मेडिकल कलेजले भोगिरहेको अवस्था मेडिकल कलेजको व्यवस्थापन पक्षले सिर्जना नगरेको भन्दै प्रबन्ध निर्देशक डाक्टर कनोडियाले भने–‘संस्था घाटामा रहेकाले अहिले कर्मचारीले उठाएको माग सम्बोधन गर्न नसकिने बताए ।’

धेरै कर्मचारी पुराना र स्थायी रुपमा कार्यरत रहेकाले उनीहरुलाई सेवाबाट हटाउन पनि नसकिने र तत्काल तलबभत्ता बृद्धि पनि गर्न नसकिने उनको भनाइ छ । पछिल्लो तीन वर्षदेखि निरन्नतर मेडिकल कलेज घाटामा गएको अस्पताल ब्यवास्थापन पक्षले बताएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना महामारीले दुई वर्षदेखी मेडिकल कलेजको शैक्षिक गतिविधी पुरै ठप्प रहेको तथा नेपालगन्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि आम्दानी भन्दा बढी खर्च भइरहेकाले कर्मचारीको तलब, भत्ता बृद्धि गर्न नसकिने प्रबन्ध निर्देशक डाक्टर कनोडियाले पत्रकार सम्मेलनमा बताए ।

उनले भने –‘अस्पतालमा अधिकारको नाममा कर्मचारीले बढी राजनीति गरिरहेकाछन्, त्यसले समग्र अस्पतालमा मात्र नभइ पश्चिम नेपालका सेवाग्राहीलाई समेत असर पुगेकोछ ।’

माग पुरा गर्न आन्दोलन गरिनुपर्छ तर, स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा अस्पतालको दैनिक कार्यमा बाधा पुर्याउनु, ताला लगाउनु र स्वास्थ्य सेवा प्रदान गर्न दिन रोक्नु गैर कानूनी तथा मानवता विरोधी कार्य हो प्रवन्ध निर्देशक डाक्टर कनोडियाले भने–‘हामीले प्रशासन तथा सरोकारवालाई पनि यो विषयमा जानकारी गराइसकेका छौं ।’

मेडिकल कलेजका सञ्चालक तथा फाइनान्स विभाग प्रमुख श्यामकुमार शर्माले कर्मचारीको तलब, भत्ता नेपाल सरकारको नियम अनुसार २०७५ सालमा बृद्धि गरिएको र कोरोना महामारीका कारण संस्था घाटामा गएकाले बृद्धि गर्न नसकिएको बताए ।

उनले भने–‘मेडिकल कलेजका कर्मचारीलाई राज्यले तोकेभन्दा बढि पारीश्रमकित, तलबभत्ता प्रदान गरिरहेका छौं । अहिले अस्पताल घाटामा छ । यस्तो बेला अस्पतालको कार्यमा अबरोध पुर्याउनु कानूनी तथा मानवता विरोधी कार्य हो ।’

शर्माले अगाडी थपे–‘अस्पतालको अहिले आम्दानी भन्दा बढी खर्च भइरहेको छ । कर्मचारीको आन्दोलनका कारण अहिले दैनिक १५ लाख देखी २० लाखसम्म घाटा भइरहेकोछ ।’

आन्दोलनरत मेडिकल कलेजका कर्मचारीको मागप्रति व्यवस्थापन पक्ष सधैं सकारात्मक रहेको जति आन्दोलनको समयअवधि लम्बिन्छ त्यती नै उहाँहरुको माग सम्बोधन ढिलो हुने शर्माको भनाइछ ।

यस्तै पत्रकार सम्मेलनमा मेडिकल कलेजका सहायक निर्देशक डाक्टर नितेशकुमार कनोडियाले देशका अन्य निजी मेडिकल कलेजभन्दा नेपालगन्ज मेडिकल कलेजले सस्तोमा सेवा दिइरहेको बताए ।

उनले भने देशमै अरु मेडिकल कलेज भन्दा नेपालगन्ज मेडिकल कलेजले कर्मचारी र उनका परिवारको निःशुल्क औषधी उपचारको ब्यवस्था मिलाउँदै आएको छ । मेडिकल कलेज घाटामा रहेका बेला अनावश्यक दुःख दिने गरि अघि सारिएका माग सम्बोधन गर्न नसकिने भन्दै सहायक निर्देशक डाक्टर नितेशकुमारले भने–‘जटिल परिस्थितीमा आन्दोलन रोकेर काममा फर्किन म उहाँहरुलाई अपील गर्छु ।’

मेडिकल कलेजले गत आर्थिक वर्षमा कुल १४२ करोड आम्दानी गर्दा १४६ करोड बढि खर्च भएको पत्रकार सम्मेलनमा बताइएकोछ । हाल मेडिकल कलेजमा ९५० जना स्थायी कर्मचारी, ३ सय जना करार र मेडिकल शिक्षणतर्फ १५० जना कर्मचारी गरि कुल १ हजार ४५० कर्मचारी कार्यररत रहेकाछन् ।