योजनाका काम छिटो सक्न मेयर राणाको निर्देशन, अटेरी गर्नेलाई कारबाही गरिने


योजनाका काम छिटो सक्न मेयर राणाको निर्देशन, अटेरी गर्नेलाई कारबाही गरिने

नेपालगन्ज ७ कात्तिक : नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले चालु आर्थिक वर्ष २०७८÷७९ का योजनाको काम छिटो भन्दा छिटो पुरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।

आईतबार उप–महानगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटो भन्दा छिटो गुणस्तरयुक्तरुपमा सम्पन्न गर्न अहिलेदेखि जुट्न निर्देशन दिएका हुन् ।

नगर प्रमुख राणाले समयभित्रै काम सम्पन्न नगर्ने र निर्माण कार्यमा सन्तोषजनक प्रगति गर्न नसक्ने निर्माण कम्पनीलाई नियमानुसार कारबाहीको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिए ।

राणाले नगरभित्र सञ्चालित सम्पूर्ण आयोजनाहरुको कार्य प्रगति बारे जानकारी लिदै अधुरा आयोजनाहरु पनि छिटो भन्दा छिटो सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे । आयोजनाहरुको लागत स्टिमेट, बोलपत्र आव्हान लगायतका बाँकी रहेका कामहरु पनि छिटो भन्दा छिटो सम्पन्न गरी छिटो काम सञ्चालन गर्न नगर प्रमुख राणाले आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

सो अवसरमा नगर उपप्रमुख उमा थापा मगरले नगरभित्र महत्वपूर्ण कामहरु सञ्चालन भईरहेको भन्दै निर्माण कार्यमा कुनैपनि खालको समस्या हुन नदिने गरी काम समयभित्रै हुने वातवरण बनाउन कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिए ।