बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा,चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था


बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा,चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था

कञ्चनपुर १० कार्तिक : अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् ।

खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ । बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए । ‘बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ’, किसान महासङ्घका सचिवालय सदस्य खेम सुवेदीले भने, ‘सावाँ ऋण ७५ प्रतिशत मिनाहा र ब्याज पूरै मिनाहा हुनुपर्छ ।’

बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको माग छ । किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तेलहन र तरकारी बालीको क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउनुपर्ने सुवेदी बताए ।

हिउँदे बाली लगाउन मल, खाद, बीउबिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पूरै अनुदानमा उपलब्ध गराएमात्रै किसानलाई राहत पुग्ने उनको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

बाली नोक्सानी हुँदा खाद्यान्न सङ्कट निम्तिने किसान बताउँछन् । क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

धानको समर्थन मूल्य तत्काल तोक्नुपर्ने नेपाल किसान सङ्घ कञ्चनपुरका सभापति भैरवबहादुर ऐरले बताए । बाढीपीडित किसानलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडादेखि दैनिक उपभोग्य वस्तु खरिदका लागि प्याकेजका रूपमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको माग छ । बाढीबाट दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका किसान बढी प्रभावित भएका छन् । -रासस