बर्दियामा प्रहरीकै संरक्षणमा जुवा


बर्दियामा प्रहरीकै संरक्षणमा जुवा

बर्दिया १० कार्तिक : सामान्य बुझाई छ जुवा खेल्नु खेलाउनु कानूनले दण्ड गर्छ । कानूनका रक्षक ‘प्रहरी’ले जुवा खेलेको वा खेलाएको पाए नियन्त्रणमा लिएर कारबाही गर्छ । जुवा खेल्नु र खेलाउनु कानूनी र सामाजिकरुपमा अपराध र दण्डनिय हो । तर, बर्दियामा यसको ठिक उल्टो छ ।

तपाई जुवा खेल्ने वा खेलाउदैँ हुनुहुन्छ भने बर्दियामा यसको कुनै रोकटोक छैन । न त कानूनले रोक्छ, न त समाजले केही भन्छ । किनकी यहाँ(बर्दिया)मा प्रहरीकै संरक्षण र निगरानीमा जुवा खेलाइन्छ, खेलिन्छ ।

बर्दियामा प्रहरीकै संरक्षणमा लाखौं रुपैयाँको जुवा खेल हुने गरेको पाइएपछि यस्तो रहस्य बाहिरीएको हो । प्रहरीले नै स्वयम जुवा खेल्ने र खेलाउनेलाई संरक्षण र बढावा दिएपछि भर्खरै हामीबाट विदा भएको दशैँमा प्रहरीले मनग्य आम्दानी समेत गरेकोछ ।

प्रहरीका लागी राम्रो आर्थिक स्रोत बनेको जुवा खेललाई घुमुवा प्रहरीकै संरक्षणमा रातभर जुवा खेलाउने र सेटिङ्ग मिलाएर राम्रो मोलमोलाई हुनेभएपछि प्रहरीलाई पनि हाई सन्चो भयो । बर्दिया प्रहरीले दशैं अघि दिनहुँजसो जिल्लाका नामुद जुवाडे, जुवा खेलाउने उच्च तहका व्यक्तिको घरमा न त छापा हान्यो न त जुवा खेल्ने र खेलाउनेलाई रोक्न सक्यो ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय बर्दिया कार्यालय भन्दा केही पर २/३ वटा नामुद जुवा खेलाउने पहुँचवाला ब्यक्तिको घरमा दशैंभर जुवा भयो त्यतीमात्र होइन साना–साना जुवा खेल्ने र खेलाउनेहरु पनि हौसिएर खेले खेलाए’ जिल्ला प्रहरी कार्यालय बर्दिया नजिकै घर भएका एक स्थानीयले आफ्नो परिचय गोप्य राख्ने शर्तमा अगाडी भने–‘ती ब्यक्तिहरुको घरमा रातभरी नै जुवा खेलिरहेका हुन्छन्, केहि भन्न सकिने अवस्था छैन । घुमुवा प्रहरी नै जुवाघरको आसपासमा रहेर पहरेदारी गरिरहेका हुन्छन् ।’

चाडबाडमा हुने जुवा खालबाट लाखौं नगद सहित जुवाडे पक्राउ गरिरहेको बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रपछि ती जुवाडेहरुलाई बर्दियामा आएर जुवा खेल्न सहज भएकोछ । न प्रहरीको टेन्सन न त पक्राउ पर्ने तनाव । यो भएपछि अहिले बर्दियाको गुलरियामा बाँकेका नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रका जुवाडेहरुको दिनहुँजसो बर्दियाको गुलरिया आउजाउ बढेकोछ ।

बर्दियाको गुलरिया नगरपालिका मात्रै होइन यहाँका मधुवन, बाँसगढि, भुरिगाँउ, मैनापोखर र भोलागौडी लगायतका क्षेत्रमा घुमुवा प्रहरीकै संरक्षणमा लाखौँको जुवा खेल भइरहेको छ । र त्यहाँबाट सेटिङ्ग मिलाएर घुमुवा प्रहरीले बडाहाकिम (एसपी) र डिएसपीलाई रकम बुझाइरहेको सेतोखरीलाई उच्च स्रोतले जानकारी दियो ।

‘घुमुवा प्रहरीले जुवा खेलाउनेसंग मिलेर रातभरी जुवा खेलाउने गर्छ । जुवा भइरहेको स्थान वरपर घुमुवा प्रहरीले पहरेदारी गरिरहन्छ ।’ सेतोखरीलाई ती उच्च स्रोतले भन्यो–‘प्रहरीकै संरक्षणमा जुवा खेल्न पाएपछि बर्दियाका व्यापारी, विभिन्न पार्टिका उच्च तहका व्यक्ति, ठेकेदार हौसिदै दिनहुँ खेलिरहेका हुन्छन् ।’

यतिमात्र होइन सेतोखरीसंग कुरा गर्दै ती ब्यक्तिले भने –‘बर्दियामा जुवा खेल्नकै लागि बाँके तथा भारतका मिहिपुरहवा, लखिमपुर लगायतका क्षेत्रबाट पनि व्यापारीहरु आउने गरेका छन् ।’

जुवा खेलाएबापत खेलाउने व्यक्तिले घुमुवा प्रहरीलाई मोटो रकम दिने गरेको ती ब्यक्तिले सुनाए । घुमुवा प्रहरीले भने त्यो रकम जिल्ला प्रहरी कार्यालयका हाकिमहरुलाई बुझाउने गरेका छन् । त्यसरी बुझाउने रकमबाट सर आज माल कम आयो, भन्दै केही रकम बिचमै ‘चैट’(आफूसंग राखेर) हाकीमलाई घुमुवा प्रहरीले बुझाउने गरेकाछन् ।

बाँकेमा धमाधम जुवाडे तथा सञ्चालकहरु पक्राउ पर्न थालेपछि दशै पछि बर्दियामा जुवा खेलाउने र खेल्नेको सख्या ह्वात्तै बढेको छ । अहिले होटलदेखि आफुलाई समाजसेवि बताउने शक्ति र सत्तामा रहेका उच्च तहका व्यक्तिहरुका घरमा जुवा खेलाइन्छ । तर, प्रहरी प्रशासनले त्यो कार्य बापत मोटो रकम आउने भएपछि जुवा खेलाउनेहरुसंग समन्वय गरी मोटो रकम असुली रहेको छ ।

जुवा कसको घरमा खेलाउने ? को–को व्यक्ति खेल्ने ? र कति रकम प्रहरीलाई बुझाउने पूर्वसहमति भएपछि प्रहरीको संरक्षणमा जुवा खेलाउन र खेल्न पाइने व्यवस्था प्रहरीले गरेको छ । त्यति मात्र नभई जुवाडेहरुलाई संरक्षण गर्नुका साथै जुवा खेलिरेको स्थानलाई सुरक्षा समेत दिइने गरेको छ ।

बर्दियामा घुमुवा प्रहरीले बारम्बार पैसा असुललेको समाचार आइरहेता पनि जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्की र प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले व्यवास्ता गरिरहेको स्थानीयबासी भनाइछ । यसरी विभिन्न तह र तप्काका जुवाडेहरुले नियम र कानूनको धज्जी उडाउदैँ जुवा खेलाउने र खेल्ने कार्यमा संलग्न भएको पाएपछि स्थानीयबासीले बर्दियाको सुरक्षा व्यवस्थामै प्रश्न उठेको भन्दै बर्दिया प्रहरी प्रमुखलाई जुवा खेल्न र खेलाउन रोक्न आग्रह समेत गरेको गुलरियाका एक ब्यापारीले बताए ।

बर्दियाको गुलरियामा प्रहरी संरक्षणमै जुवा खेल्न र खेलाउन लगाइएको हो भन्ने सेतोखरीले राखेको प्रश्नमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक इश्वर कार्कीले भने–‘कहि कतै जुवा खेल्ने र खेलाउने कार्य भएको छैन ।’ उनले भने उल्टै सेतोखरीलाई प्रतिप्रश्न गर्दै भने –‘जुवा कहाँ र कसले खेलीरहेकाछन् वा खेलाइरहेकाछन् हामीलाई सूचना दिनुस् । तपाईको पहिचान गोप्य रहेनेछ कारबाही गरिन्छ ।’

प्रहरी उपरीक्षक कार्कीले अगाडी थपे–‘प्रहरीको संरक्षणमा जुवा खेलाइएको भन्ने खबर गलत हो, जुवा खेलाएबापत कुनै रकम लिइएको पनि छैन । तपाई जिम्मेवार व्यक्तिसंग कुरा गर्दै हुनुहुन्छ ढुक्क भई मलाई सूचना दिनुहोस् ।’